राष्ट्रले एक प्रखर बौद्धिक व्यक्तित्व र लोकतन्त्रको सजग पहरेदार गुमायो : सभापति थापा

लोकपथ
196
Shares

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नागरिक अगुवा डा.देवेन्द्रराज पाण्डेको निधनप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेका छन् ।

शनिबार सामाजिक सञ्जालमार्फत श्रद्धाञ्जली व्यक्त गर्दै सभापति थापाले डा.पाण्डेको निधनले राष्ट्रले एक प्रखर बौद्धिक व्यक्तित्व, नैतिक नेतृत्व र लोकतन्त्रको सजग पहरेदार गुमाएको बताएका छन् ।

उनले डा.पाण्डे नागरिक स्वतन्त्रता, समानता, मानव अधिकार र लोकतान्त्रिक चेतनाका पक्षमा जीवनभर निर्भिकतापूर्वक उभिएको उल्लेख गर्दै नेपालको लोकतान्त्रिक आन्दोलनका निर्णायक मोडहरूमा नागरिक तहबाट संघर्षको समन्वय गर्दै निरंकुशताविरुद्ध दृढ आवाज उठाएको स्मरण गरेका छन् ।

थापाका अनुसार डा। पाण्डेले अर्थसचिव, अर्थमन्त्री, विकास चिन्तक तथा सुशासनका अभियन्ताका रूपमा नेपालको अर्थतन्त्र, सार्वजनिक प्रशासन र विकाससम्बन्धी बहसलाई नयाँ दृष्टिकोण दिएका थिए । सार्वजनिक जीवनमा उनले देखाएको इमानदारी, पारदर्शिता र नैतिक साहस भावी पुस्ताका लागि अमूल्य विरासत रहने विश्वास पनि थापाले व्यक्त गरेका छन् ।

सभापति थापाले सामाजिक सद्भाव, समानता र राष्ट्रिय एकताका पक्षमा डा.पाण्डेले निर्वाह गरेको भूमिका विशेष स्मरणीय रहेको उल्लेख गर्दै उनले प्रज्वलित गरेको नागरिक चेतनाको दीप र छोडेको बौद्धिक सम्पदाले भावी पुस्तालाई सधैँ मार्गदर्शन गरिरहने बताएका छन् ।

नागरिक अगुवा डा. देवेन्द्रराज पाण्डेको शुक्रबार साँझ काठमाडौंको विशालनगरस्थित निवासमा ८७ वर्षको उमेरमा निधन भएको थियो । अस्वस्थ भएपछि उनलाई पाटन अस्पतालबाट शुक्रबार नै निवास ल्याइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?