काठमाडौं । पूर्वअर्थमन्त्री एवं नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेललाई साधारण तारेखमा छाड्न आदेश दिइएको छ ।
सम्पत्ति शुद्धिकरणको कसुरमा पक्राउ परेका पौडेललाई शुक्रबार विशेष अदालतले साधारण तारेखमा छाड्न आदेश दिएको हो ।
विशेष अदालतका सदस्य न्यायाधीशत्रय नारायणप्रसाद पौडेल, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासले पौडेललाई छाड्न आदेश दिएको हो ।
विवादित व्यवसायी दीपक भट्ट लगायतलाई गैरकानुनी सम्पत्ति लुकाउन एवं छल्ने वातावरण बनाएको भन्दै पौडेलसहित ६ जना व्यक्ति र १० प्रालिविरुद्ध बिहीबार विशेष अदालतमा मुद्दा दायर भएको थियो ।
बिहीबार दायर भएको मुद्दामा २० करोड ९० लाख बिगो कायम गरी पौडेलको बैंकमा रहेको ६ लाख ३४ हजार ५४५ रुपैयाँ जफतको मागदाबी समेत लिइएको थियो ।
विशेष अदालतले पौडेलको संलग्नता तत्काल प्राप्त प्रमाणबाट नखुलेको, आरोपमाथि उनले इन्कारी बयान दिएको र दीपक भट्टसँग उनले वित्तिय कारोबार गरेको अनि सम्पत्ति वा लाभ प्राप्त गरेको नदेखिएको तर्कका आधारमा साधारण तारेखमा छाड्न भनेको हो ।
सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले गत असार ६ गते सुर्खेतबाट पक्राउ गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया