काठमाडौं । सक्रिय मनसुनका कारण आइतबारदेखि परेको अविरल वर्षाले देशका विभिन्न जिल्लामा जनजीवन प्रभावित भएको छ । विशेषगरी बागमती, गण्डकी र कोशी प्रदेशमा भारी वर्षासँगै पहिरो, सडक अवरोध र डुबानका घटना बढेका छन् ।
जल तथा मौसम विज्ञान विभागका अनुसार पछिल्लो २४ घण्टामा चितवनको नारायणगढ क्षेत्रमा २६९ मिलिमिटर वर्षा मापन भएको छ, जुन हालसम्मकै सबैभन्दा बढी वर्षा हो ।
रामपुरमा २३२ मिलिमिटर, देवघाटमा २०९ मिलिमिटर, कालीखोलामा १५१ मिलिमिटर तथा म्याग्दीको घोरेपानीमा २५८ मिलिमिटर वर्षा भएको विभागले जनाएको छ । नवलपुरको दुम्क्यौलीमा २१५ मिलिमिटर तथा सिन्धुली, उदयपुर र सुनसरीमा पनि १०० मिलिमिटरभन्दा बढी वर्षा भएको छ ।
काठमाडौं उपत्यकाबाट बाहिरिने प्रमुख नाका नागढुंगा सडकखण्डमा पनि यातायात सञ्चालन रोकिएको छ । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता अविनारायण काफ्लेका अनुसार वर्षाका कारण सडकमा जोखिम बढेकाले अर्को सूचना जारी नभएसम्म सवारी सञ्चालन स्थगित गरिएको हो ।
कास्कीमा खोलाको कटानले सडक तथा घरमा क्षति पुगेको छ भने कालीकोटमा पहिरोले पुरिँदा दुई जनाको मृत्यु भएको छ ।
विभागका सूचना अधिकारी दिनकर कायस्थका अनुसार सोमबार रातिसमेत चितवनलगायत बागमती र गण्डकी प्रदेशका विभिन्न क्षेत्रमा वर्षा जारी रहने सम्भावना रहेको छ ।
मौसमविद् मिनकुमार अर्यालका अनुसार हाल मनसुनी वायु सक्रिय रहनुका साथै मनसुनको न्यून चापीय रेखा नेपालको तराई भूभाग नजिक उत्तरतर्फ रहेकाले वर्षाको प्रभाव बढेको हो ।
विभागले मंगलबार पनि कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्रका थोरै स्थान तथा ती प्रदेशका तराई क्षेत्र र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ । कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका अधिकांश स्थानमा बदली रही मेघगर्जन, चट्याङसहित वर्षा हुने पूर्वानुमान गरिएको छ ।
भारी वर्षासँगै नदी तथा खोलामा पानीको बहाव बढ्ने, पहिरो र डुबानको जोखिम रहने भएकाले आवश्यक सतर्कता अपनाउन विभागले सर्वसाधारणलाई आग्रह गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया