कांग्रेसका नियमित महाधिवेशन पक्षधर नेताहरुले भने– ‘अब अल्मल नगरौँ, छिटो निर्णय गरौँ’

लोकपथ
175
Shares

काठमाडौं । नेपाली कांग्रेसको नियमित महाधिवेशन पक्षधर नेताहरूले पार्टी एकता वा नयाँ संगठन निर्माणबारे अब ढिलाइ नगरी स्पष्ट निर्णय गर्नुपर्ने निष्कर्ष निकालेका छन् ।

मंगलबार दोस्रो दिन पनि जारी १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिको बैठकमा बोल्ने अधिकांश नेताहरूले पार्टी एकताको सम्भावनालाई अन्तिमसम्म प्रयास गर्नुपर्ने, तर एकता सम्भव नभए वैकल्पिक शक्ति वा संगठन निर्माण गर्न पनि हच्किन नहुने धारणा राखेका हुन् ।

बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेता मिनबहादुर विश्वकर्माले पाँच जना नेताले पार्टीको आगामी दिशा, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय राजनीतिक परिस्थिति र संगठनको भविष्यबारे धारणा राखेको जानकारी दिए ।

उनका अनुसार अधिकांश वक्ताले नेपाली कांग्रेसलाई निरन्तरता दिन सबै नेताहरू एक ठाउँमा बसेर साझा निर्णय गर्नुपर्नेमा जोड दिएका छन् । यदि पार्टी एकता सम्भव नभए लोकतान्त्रिक आन्दोलनको विरासतलाई जोगाउन वैकल्पिक शक्ति वा नयाँ संगठन निर्माण गर्नुपर्ने अवस्था आए पनि त्यसबाट पछि हट्न नहुने उनीहरूको निष्कर्ष रहेको उनले बताए ।

विश्वकर्माले बैठकमा साउन ६ गते मनाइने विपी स्मृति दिवसलाई भव्य रूपमा आयोजना गर्ने प्रस्तावसमेत पारित भएको जानकारी दिए ।

उनले भने, ‘अधिकांश वक्ताको भनाइ अब अल्मल नगरौँ, जे गर्ने हो छिटो गरौँ भन्ने रहेको छ ।’

बैठक बुधबार दिउँसो ३ बजे काठमाडौंको चुनदेवीस्थित सम्पर्क कार्यालयमा पुनः बस्ने गरी स्थगित गरिएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?