६ महिनादेखि महँगी भत्ता नपाएपछि प्रेस काउन्सिलका कर्मचारी आन्दोलित, कामकाज ठप्प

लोकपथ
7
Shares

काठमाडौं । विगत ६ महिनादेखि सरकारले उपलब्ध गराउनुपर्ने महँगी भत्ता नपाएको भन्दै प्रेस काउन्सिल नेपालका स्थायी कर्मचारी आन्दोलनमा उत्रिएका छन् ।

कर्मचारीहरूले बिहीबारदेखि ‘पेन डाउन’ गर्दै कार्यालयको नियमित कामकाज ठप्प पारेका छन् ।

कर्मचारीहरूको भनाइअनुसार सरकारले अनिवार्य दायित्वअन्तर्गत उपलब्ध गराउनुपर्ने महँगी भत्ता गत माघ महिनादेखि रोकिएको छ ।

यस विषयमा पटकपटक व्यवस्थापनसँग माग राखे पनि कुनै सुनुवाइ नभएको उनीहरूको गुनासो छ ।

प्रेस काउन्सिलका सूचना अधिकारी रामशरण बोहराले बोर्ड सदस्यहरूको कार्यकाल सकिएर बोर्ड रिक्त रहेको अवस्थामा कर्मचारीहरूको जायज मागसमेत बेवास्ता गरिएको बताए ।

उनले कर्मचारीहरूले शान्तिपूर्ण रूपमा कार्यालय परिसरमा धर्ना दिँदै दबाबमूलक आन्दोलन गरिरहेको जानकारी दिए ।

उनका अनुसार महँगी भत्ता उपलब्ध गराइने स्पष्ट सुनिश्चितता नभएसम्म पेन डाउन र धर्ना कार्यक्रम जारी रहनेछ । आन्दोलनका कारण हाल काउन्सिलको सम्पूर्ण कामकाज प्रभावित भएको छ ।

सूचना अधिकारी बोहराले आन्दोलन अधिकार प्राप्तिका लागि गरिएको मर्यादित र शान्तिपूर्ण दबाबमूलक कार्यक्रम भएको स्पष्ट पारे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?