काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका राष्ट्रिय सभा सदस्य कृष्णबहादुर रोकायले पेट्रोलियम पदार्थको कृत्रिम अभाव सिर्जना गर्ने पेट्रोल पम्पमाथि तत्काल छानबिन गरी कडा कारबाही गर्न सरकारसँग माग गरेका छन् ।
बिहीबार राष्ट्रिय सभा बैठकको शून्य समयमा बोल्दै उनले नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको केही घण्टामै देशका विभिन्न स्थानमा पेट्रोल र डिजेल अभाव भएको भन्दै बिक्री वितरण रोकिएको सूचना आएको उल्लेख गरे । मूल्य घट्नेबित्तिकै कृत्रिम अभाव सिर्जना गर्नु उपभोक्तामाथिको अन्याय भएको उनको भनाइ थियो ।
उनले मूल्य बढ्दा त्यसको भार जनताले बोक्नुपर्ने तर मूल्य घट्दा राहत नपाउने अवस्था स्वीकार्य नभएको भन्दै कृत्रिम अभाव सिर्जना गर्ने पेट्रोल पम्पमाथि सरकारले तत्काल छानबिन गरी कानुनबमोजिम कारबाही गर्नुपर्ने माग गरे ।
सांसद रोकायले पेट्रोलियम पदार्थको मूल्य घटिसकेको अवस्थामा सार्वजनिक यातायात र हवाई उडानको भाडा पनि तत्काल पुनरावलोकन गरी घटाउन सरकारको ध्यानाकर्षण गराए ।
उनले भने,‘नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको केही घण्टामै देशका धेरै स्थानमा पेट्रोल र डिजेल छैन भन्दै केही पेट्रोल पम्पबाट बिक्री वितरण बन्द भएको सूचना आएको छ । मूल्य बढ्दा भार बोक्ने जनताले मूल्य घट्दा राहत पाउनुपर्दैन ? कृत्रिम अभाव सिर्जना गर्नेहरूमाथि सरकारले तत्काल छानबिन गरी कानुनबमोजिम कडा कारबाही गरोस् । साथै पेट्रोलियम पदार्थको मूल्य घटिसकेको अवस्थामा सार्वजनिक यातायात र हवाई उडानको भाडा पनि अविलम्ब पुनरावलोकन गरियोस् ।’
रोकायले पेट्रोलियम पदार्थको मूल्य घट्दा त्यसको प्रत्यक्ष लाभ उपभोक्ताले पाउने व्यवस्था सुनिश्चित गर्न सरकारलाई आग्रह गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?






प्रतिक्रिया