शान्ति बाटिकामा रहेका संरचना तत्काल हटाउन कार्यवाहक प्रमुख डंगोलको निर्देशन

लोकपथ
98
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले शान्ति बाटिकामा रहेका संरचना हटाउन नगरप्रहरीलाई निर्देशन दिएकी छन् ।

महानगरपालिकाको ५३औँ नगर कार्यपालिका बैठकमा उनले शान्ति बाटिकामा रहेका संरचना हटाउन कुनै कानुनी अवरोध नरहेको भन्दै आवश्यक प्रक्रिया तत्काल अघि बढाउन निर्देशन दिइन् ।

उनले गणेशमान सिंहको शालिक, नेपाल प्रहरीको कार्यालयलगायतका संरचना हटाएर सो कार्यको प्रगतिबारे तस्बिरसहित महानगर र सम्बन्धित वडाध्यक्षलाई जानकारी गराउन पनि निर्देशन दिएकी हुन् ।

बैठकमा डंगोलले कर्मचारी सम्मान कार्यक्रम अब थप ढिलाइ नगरी अघि बढाउन प्रमुख प्रशासकीय अधिकृतलाई निर्देशन दिइन् । ‘जुनसुकै कारणले रोकिएको भए पनि कर्मचारी सम्मान कार्यक्रम तत्काल सञ्चालन गर्नुपर्छ,‘उनले भनिन् ।

फोहोर व्यवस्थापन महानगरको प्राथमिकतामा रहेको उल्लेख गर्दै उनले कोर क्षेत्र र कोर क्षेत्रबाहिरको फोहोर व्यवस्थापनको वर्तमान अवस्था तथा विगतका अभ्यासको समीक्षा गरी नयाँ कार्ययोजना तयार गरिने जानकारी दिइन् ।

जनप्रतिनिधिको सुविधा सम्बन्धी विषयमा नगरसभाबाट निर्णय भइसकेको र प्रदेश सरकारसँग आवश्यक पत्राचार तथा कानुनी प्रक्रिया पूरा गरिएको पनि उनले बताइन् ।

त्यसैगरी, अव्यवस्थित बसोबास तथा सुकुम्बासी व्यवस्थापनका लागि भूमि समस्या समाधान समितिका पदाधिकारीसँग छलफल भएको जानकारी दिँदै उनले छिट्टै महानगरमै अर्को बैठक आयोजना गरिने बताइन् । उक्त बैठकमा भूमि समस्या समाधान समिति र प्रभावित वडाका अध्यक्ष सहभागी हुनेछन् ।

उनका अनुसार बैठकमा वडागत समस्याबारे विस्तृत छलफल गरी सुकुमबासी तथा अव्यवस्थित बसोबासको दिगो समाधान खोज्ने विषयमा आवश्यक निर्णय लिइनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?