मुस्ताङमा युरेनियम उत्खननबारे नेपाली-अमेरिकी सेनाबीच कुनै सम्झौता छैन : परराष्ट्रमन्त्री खनाल

लोकपथ
56
Shares

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले मुस्ताङमा युरेनियम उत्खननका लागि नेपाली सेना र अमेरिकी सेनाबीच कुनै सम्झौता भएको भन्ने सार्वजनिक चर्चामा कुनै सत्यता नभएको स्पष्ट पारेका छन् ।

बुधबार राष्ट्रिय सभाको बैठकमा सांसदहरूले उठाएका जिज्ञासाको जवाफ दिँदै मन्त्री खनालले मुस्ताङ क्षेत्रमा खानी उत्खननसम्बन्धी कुनै पनि पक्षसँग कुनै प्रकारको सहमति वा सम्झौता नभएको जानकारी दिए ।

उनले केही डिजिटल सञ्चारमाध्यममा प्रकाशित यस्ता दाबीहरू पूर्ण रूपमा आधारहीन रहेको उल्लेख गर्दै नेपाल सरकारका सम्बन्धित निकायहरूले यसअघि नै त्यसको खण्डन गरिसकेको बताए ।

परराष्ट्रमन्त्री खनालले नेपालको संविधानको व्यवस्था, असंलग्न परराष्ट्र नीति र पञ्चशीलको सिद्धान्तविपरीत हुने कुनै पनि सम्झौता सरकारले नगर्ने स्पष्ट पारे। प्राकृतिक स्रोतको उपयोग संविधानअनुसार नै हुने भन्दै सरकारले त्यसप्रति पूर्ण प्रतिबद्धता जनाएको उनले बताए ।

उनका अनुसार मुस्ताङ क्षेत्रमा खानी हुनसक्ने सम्भावनाबारे भएका प्रारम्भिक अध्ययनहरूले केही सकारात्मक संकेत गरे पनि युरेनियम वा अन्य खनिजको अस्तित्व पुष्टि गर्न थप विस्तृत अध्ययन र अन्वेषण आवश्यक छ ।

मन्त्री खनालले यस विषयमा आवश्यक अध्ययन तथा अनुसन्धानका प्रक्रिया खानी तथा भूगर्भ विभागले अगाडि बढाउने जानकारी समेत दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?