इरानमाथि अमेरिकाको फेरि हवाई आक्रमण, २४ घण्टाभित्र दोस्रो सैन्य कारबाही

अमेरिकी हवाई आक्रमणपछि कुवेत र बहराइन उच्च सतर्कतामा

लोकपथ
210
Shares

काठमाडौं । होर्मुज जलमार्गमा शनिबार पानामाको झण्डा बोकेको एक तेल ट्यांकरमा ड्रोन आक्रमण भएपछि अमेरिकाले इरानका विभिन्न सैन्य ठेगानामाथि फेरि हवाई आक्रमण गरेको छ ।

अमेरिकी सेन्ट्रल कमान्ड (सेन्टकम) ले इरानका सैन्य उपकरण, सञ्चार प्रणाली, हवाई प्रतिरक्षा प्रणाली र ड्रोन भण्डारण केन्द्रलाई निशाना बनाएको जनाएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले पटक–पटक युद्धविराम उल्लंघन गरेकाले यो कदम चाल्नुपरेको बताएका छन् । उनले इरानले आफ्नो व्यवहार नसुधारे अझ कडा सैन्य कारबाही गरिने चेतावनी दिएका छन् ।

इरानले भने यस नयाँ अमेरिकी आक्रमणबारे अहिलेसम्म आधिकारिक प्रतिक्रिया दिएको छैन ।

सेन्टकमका अनुसार इरानलाई युद्धविरामको सम्मान गर्ने मौका दिइएको थियो । तर पानामाको झण्डा बोकेको एमटी किकु नामक तेल ट्यांकरमा ड्रोन आक्रमण गरेपछि अमेरिकाले जवाफी कारबाही गरेको हो । यद्यपि होर्मुज जलमार्गबाट व्यापारिक जहाजहरूको आवागमन भने जारी रहेको बताइएको छ ।

अमेरिकी आक्रमणपछि कुवेत र बहराइनले सुरक्षा सतर्कता बढाएका छन् । दुवै देशले हवाई प्रतिरक्षा प्रणाली सक्रिय पार्दै नागरिकलाई सतर्क रहन र सुरक्षा निकायका निर्देशन पालना गर्न आग्रह गरेका छन् ।

यो २४ घण्टाभित्र अमेरिकाले गरेको दोस्रो ठूलो हवाई आक्रमण हो । यसअघि जुन २५ मा सिंगापुरको झण्डा बोकेको एमभी एभर लभ्ली मालवाहक जहाजमा ड्रोन आक्रमण भएपछि पनि अमेरिकाले इरानमाथि आक्रमण गरेको थियो ।

इरानले भने सम्बन्धित जहाजले होर्मुज जलमार्गमा अनधिकृत बाटो प्रयोग गरेकाले कारबाही गरिएको दाबी गरेको छ । साथै, अमेरिकी हवाई आक्रमण नै युद्धविरामको उल्लंघन भएको आरोप पनि लगाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?