व्यवसाय सञ्चालन गर्दा मानव अधिकारको सम्मान गर्न आयोगको आग्रह

लोकपथ
21
Shares

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले मानव अधिकारको संरक्षण र प्रवर्द्धन गर्ने मुख्य जिम्मेवारी सरकारको भएको बताएका छन् ।

बुधबार काठमाडौंमा आयोजित ‘व्यवसाय र मानव अधिकारसम्बन्धी राष्ट्रिय संवाद’ कार्यक्रममा बोल्दै अध्यक्ष मगरले व्यवसाय सञ्चालनका क्रममा कुनै पनि प्रकारको मानव अधिकार उल्लंघन हुन नदिन सरकार र व्यवसायी दुवैले विशेष ध्यान दिनुपर्ने बताए ।

उनले व्यवसाय सञ्चालन गर्दा श्रमिक, उपभोक्ता तथा सरोकारवालाको अधिकार हनन भए–नभएको विषयमा सरकारले प्रभावकारी निगरानी गर्नुपर्ने उल्लेख गरे। साथै व्यवसायीहरूले पनि आफ्नो व्यवसाय सञ्चालन गर्दा मानव अधिकारको सम्मान गर्दै अघि बढ्नुपर्ने उनको भनाइ थियो ।

अध्यक्ष मगरले मानव अधिकार उल्लंघनका घटना भएमा राष्ट्रिय मानव अधिकार आयोगले त्यसको अध्ययन तथा अनुगमन गर्ने र आवश्यक परे दोषीमाथि कारबाहीका लागि सरकारलाई निर्देशन दिने कार्य गरिरहेको बताए ।

उनले मानव अधिकारको संरक्षण र प्रवर्द्धन सरकारको दायित्व भएकाले त्यसका लागि आवश्यक कानुनी तथा संस्थागत व्यवस्था सुनिश्चित गर्नुपर्नेमा जोड दिए ।

मगरले कुनै पनि व्यवसाय सञ्चालनका क्रममा उपभोक्ताको मानव अधिकार हनन हुन नदिन सरकार संवेदनशील र जिम्मेवार हुनुपर्ने पनि बताए । उनका अनुसार व्यवसायिक गतिविधि र मानव अधिकारबीच सन्तुलन कायम गर्दै अघि बढ्न सके मात्रै दिगो र उत्तरदायी आर्थिक विकास सम्भव हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?