चोरी गरी अमेरिका पुर्‍याइएका नेपालका दुई अमूल्य मूर्ति फिर्ता

लोकपथ
42
Shares

काठमाडौं । नेपालबाट चोरी गरी अमेरिकामा लगिएका दुई महत्वपूर्ण पुरातात्त्विक मूर्ति फेरि नेपाललाई फिर्ता गरिएको छ ।

ती मूर्तिहरू पद्मपाणी र नृत्यदेवी हुन् । यी दुवै मूर्ति धेरै वर्षअघि नेपालबाट चोरी भएर अमेरिका पुगेका थिए । पछि खोजी गरेर फेला पारी न्युयोर्कमा नेपाललाई हस्तान्तरण गरिएको हो ।

न्युयोर्कमा भएको कार्यक्रममा नेपालका महावाणिज्यदूत दधिराम भण्डारी र अमेरिकी सरकारी वकिल कार्यालयका प्रतिनिधिले कागजमा हस्ताक्षर गरेर मूर्तिहरू नेपाललाई फिर्ता गरिएको घोषणा गरे ।

१३औँ शताब्दीको पद्मपाणी मूर्ति काठमाडौंको थमबहिल (विक्रमशील महाविहाररभगवानबहाल) क्षेत्रको महत्वपूर्ण सम्पदा मानिन्छ । यो मूर्ति सन् १९७१ पछि कुनै समयमा चोरी गरी अमेरिका लगिएको अनुमान गरिएको छ ।

त्यस्तै, १६औँ शताब्दीको नृत्यदेवी मूर्ति ललितपुरको इबहा बही क्षेत्रको पुरानो काष्ठकलाको उत्कृष्ट नमुना हो । यो मूर्ति पनि सन् १९६९ देखि १९८३ बीच चोरी भएको अनुमान छ ।

यी मूर्तिहरूलाई अमेरिकाको न्युयोर्कस्थित महानगर सङ्ग्रहालयबाट फेला पारिएको थियो । त्यसपछि अमेरिकी अनुसन्धान निकाय र सरकारी वकिल कार्यालयले मिलेर खोजी गरी नेपाललाई फिर्ता गरेको हो ।

नेपाल सरकारले यो कामलाई ठूलो उपलब्धि भनेको छ । यसले नेपाल र अमेरिकाबीच पुरातात्त्विक सम्पदा संरक्षणमा राम्रो सहकार्य भएको देखाएको छ ।

अब यी मूर्तिहरूलाई जुन २५ मा नेपाल पठाइनेछ । नेपाल आएपछि पुरातत्त्व विभागलाई जिम्मा लगाइनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?