काभ्रे बस दुर्घटनाको कारण खोज्न ६ सदस्यीय छानबिन समिति गठन, सात दिनभित्र प्रतिवेदन दिने

लोकपथ
35
Shares

काठमाडौं । काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–२ बुच्चाकोटमा भएको बस दुर्घटनाबारे सत्यतथ्य पत्ता लगाउन नेपाल प्रहरीले ६ सदस्यीय छानबिन समिति गठन गरेको छ ।

नेपाल प्रहरी प्रदेश कार्यालय काभ्रेका एसएसपी कमल थापाको संयोजकत्वमा शनिबार समिति गठन गरिएको हो ।

समितिलाई दुर्घटनाको कारण पहिचान गर्ने, जिम्मेवार पक्षको निर्धारण गर्ने तथा घटनासम्बन्धी सम्पूर्ण पक्षको अध्ययन गरी सात दिनभित्र प्रतिवेदन बुझाउने जिम्मेवारी दिइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

गत शुक्रबार बनेपाबाट रोशी खार्पाचोकतर्फ जाँदै गरेको बा३ख ८३९८ नम्बरको यात्रुबाहक बस सडकबाट करिब ३०० मिटर तल खस्दा आठ जनाको ज्यान गएको थियो । दुर्घटनामा अन्य १६ जना घाइते भएका छन् ।

घाइतेहरूको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनापछि प्रहरीले घटनास्थल तथा प्राविधिक पक्षको समेत अध्ययन गर्दै विस्तृत अनुसन्धान अघि बढाएको जनाएको छ ।

दुर्घटनाको वास्तविक कारणबारे निष्कर्ष निकाल्न गठित समितिले स्थलगत अध्ययन, प्रत्यक्षदर्शीको बयान तथा प्राविधिक विवरणका आधारमा अनुसन्धान गर्ने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?