पशुपतिनाथमा युवकको हत्या गर्ने साधु पक्राउ

लोकपथ
4k
Shares

काठमाडौं । काठमाडौंको पशुपतिनाथ मन्दिर परिसरमा एक युवकको हत्या गरेको आरोपमा फरार रहेका एक साधु पक्राउ परेका छन् । पक्राउ पर्नेमा द्रव्यनाथ भनिने सुबिन रानामगर रहेका छन् ।

उनीमाथि २०८२ साल फागुन ५ गते सङ्खुवासभाका २५ वर्षीय सन्तोष गिरी (सन्तोष परियार) को हत्या गरेको आरोप छ । प्रहरीले उनलाई शुक्रबार महोत्तरीको गौशाला नगरपालिका–६ बाट पक्राउ गरेर काठमाडौं ल्याएको छ ।

सन्तोषको शव फागुन ६ गते पशुपति मन्दिर परिसरको १५ नम्बर शिवालयमा फेला परेको थियो । अनुसन्धानबाट चिम्टा र बाँसको चिर्पटले प्रहार गरी उनको हत्या गरिएको खुलेको छ ।

प्रहरीका अनुसार महाशिवरात्रि मेलाको समयमा केही साधुहरूसँग विवाद भएपछि सन्तोषमाथि सामूहिक रूपमा आक्रमण गरिएको थियो । प्रारम्भिक अनुसन्धानले भारतीय साधु नीरज नाथसहितको समूहले उनलाई कुटपिट गरेको देखाएको छ ।

यसअघि प्रहरीले घटनामा संलग्न भएको आशंकामा नीरज नाथ र आशीर्वाद नाथ योगी (सरोज तामाङ) लाई पनि पक्राउ गरी अनुसन्धान गरेको थियो ।

प्रहरीका अनुसार मुख्य आरोपी द्रव्यनाथ हत्या गरेपछि बल्खु हुँदै भारततर्फ फरार भएका थिए । लामो खोजीपछि उनलाई महोत्तरीबाट पक्राउ गरिएको हो । घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?