तत्कालीन ब्रिगेड कमान्डर बटालालाई सफाइ दिने आफ्नै फैसला सर्वोच्चले उल्टायो, जन्मकैदको फैसला

लोकपथ
294
Shares

काठमाडौं । कोटेश्वरका व्यापारी रामहरि श्रेष्ठको हत्यामा संलग्न रहेको अभियोग लागेका गोविन्दबहादुर बटाला ‘जीवित’लाई सफाइ दिने सर्वोच्च अदालतको पूर्व फैसला उल्टाउँदै पूर्ण इजलासले जन्मकैदको सजाय सुनाएको छ । सर्वोच्चले बिहीबार आफ्नै अघिल्लो फैसला बदर गर्दै बटालालाई दोषी ठहर गरी जन्मकैदको फैसला सुनाएको हो ।

यसअघि सर्वोच्चका न्यायाधीशद्वय तेजबहादुर केसी र टंकबहादुर मोक्तानको इजलासले २०७६ फागुन १८ मा बटालालाई हत्यामा प्रत्यक्ष संलग्न नरहेको भन्दै सफाइ दिएको थियो । उक्त फैसलाविरुद्ध सरकारका तर्फबाट महान्यायाधिवक्ता कार्यालयले २०७७ असोज ३० गते पुनरावलोकन निवेदन दर्ता गराएको थियो । पुनरावलोकनको निस्सा प्राप्त भएपछि मुद्दा पुनः जीवित भई करिब ६ वर्षसम्म सर्वोच्चको पेसी सूचीमा रहेको थियो ।

बिहीबार न्यायाधीशहरू डा। नहकुल सुवेदी, अब्दुल अजिज मुसलमान र शान्तिसिंह थापाको पूर्ण इजलासले अघिल्लो फैसला उल्टाउँदै बटालालाई जन्मकैदको सजाय सुनाएको हो । योसँगै उनी हत्याकाण्डमा दोषी ठहर भएका छन् । बटाला श्रेष्ठलाई काठमाडौंदेखि चितवनसम्म अपहरण गर्ने कार्यमा प्रत्यक्ष संलग्न रहेको आरोप पत्रमा उल्लेख छ ।

यद्यपि, सोही मुद्दाका अर्का आरोपित बटालाका चालक रहेका संकल्प भनिने अर्जुन कार्कीले भने अभियोगबाट सफाइ पाएका छन् । यसअघिको फैसलामा कार्कीलाई २० रुपैयाँ जरिवाना मात्र गरिएको थियो ।

जन्मकैदको फैसला भए पनि घटना हुँदा अघिल्लो संविधान र कानुन रहेको कारण अघिल्लो कानुन अर्थात् मुलुकी ऐन, अदालती बन्दोवस्तीको १८८ नम्बर बमोजिम १० वर्ष मात्रै सजाय हुने राय दिइएको छ । तत्कालीन कानुनमा जन्मकैद भन्नाले २० वर्षको कैद सजाय हुने थियो । तर उक्त सजाय चर्को पर्ने भन्ने न्यायाधीशलाई लागेमा वा न्यायाधीशको चित्तमा लागेमा सजाय घटाउन सक्ने व्यवस्था रहेकाले अघिल्लो कानुनकै अधीनमा रही बटालालाई १० वर्ष मात्रै कैद सजाय सुनाइएको हो ।

बटालाले यसअघि नै ३ वर्ष १५ दिन कैद भुक्तान गरिसकेको र पुरानो फैसलाले उनलाई ‘नैतिक पतन’ हुनबाट जोगाएको थियो । तर अब पूर्ण इजलासको नयाँ फैसलासँगै उनी थप ७ वर्ष कैद सजाय भोग्न बाध्य भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?