वडा अध्यक्षहरूको चासो किन बढ्यो महानगरकाे कार्यपालिका बैठकमा ?

लोकपथ
49
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाका विभिन्न वडाध्यक्षहरूले सेवा प्रवाह, प्रशासनिक व्यवस्थापन र डिजिटल प्रणालीमा देखिएका समस्याप्रति गम्भीर असन्तुष्टि व्यक्त गरेका छन् ।

महानगरका वडाध्यक्षहरूको बैठकमा वडास्तरमा हुने सार्वजनिक सेवा प्रवाह प्रभावित भइरहेको, कर्मचारी व्यवस्थापन प्रभावकारी नभएको तथा अनलाइन प्रणाली र सर्भर समस्याका कारण कामकाज ढिलाइ हुने गरेको गुनासो उठाइएको हो ।

वडा नं. १० का अध्यक्षले ६० दिनको अस्थायी व्यवस्थापन अवधिमा समेत अपेक्षित सुधार नदेखिएको भन्दै असन्तुष्टि जनाएका छन् । साथै, ट्राफिक जाम, कार्यालयमा ढि लाइ हुने समस्या र डिजिटल प्रणालीको कमजोरीका कारण सेवा प्रवाहमा प्रत्यक्ष असर परेको उनीहरूको भनाइ छ ।

त्यस्तै, वडा नं. ७ का अध्यक्षले प्रशासनिक प्रणालीमा सुधार आवश्यक रहेको उल्लेख गर्दै सर्भर तथा सफ्टवेयरको स्तरोन्नति नगरे सेवा प्रवाह थप प्रभावित हुने चेतावनी दिएका छन् । वडा नं. ६ का अध्यक्षले समेत नियमित सेवा अवरुद्ध हुने समस्या समाधान गर्नुपर्नेमा जोड दिएका छन् ।

बैठकमा राजस्व संकलन प्रणाली, नयाँ बजेट निर्माण प्रक्रिया र अघिल्लो आर्थिक वर्षको खर्च विवरणलाई पारदर्शी बनाउनुपर्ने माग पनि उठाइएको छ । वडाध्यक्षहरूले स्पष्ट नीति र कार्ययोजना बिना सेवा प्रवाह सुधार हुन नसक्ने भन्दै महानगर नेतृत्वलाई तत्काल सुधारात्मक कदम चाल्न आग्रह गरेका छन् ।

उनीहरूले डिजिटल प्रणालीलाई सुदृढ बनाउँदै कर्मचारी कार्यक्षमता सुधार गर्नुपर्ने र दैनिक सेवा प्रवाहमा देखिएको ढिलाइ अन्त्य गर्न ठोस कदम आवश्यक रहेको बताएका छन् ।

महानगरका जनप्रतिनिधिहरूले अबको व्यवस्थापनमा ढिलाइ भए सेवा प्रभावित हुने र नागरिकको असन्तुष्टि अझ बढ्ने चेतावनीसमेत दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?