‘मधेसकै बलमा सरकार बनाउने तर अधिकार नदिने षड्यन्त्र हुँदै आएको छ’

लोकपथ
35
Shares

काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा.चन्द्रकान्त राउतले मधेसकै बलमा सरकार बन्ने तर मधेसी जनताको अधिकारलाई बेवास्ता गर्ने प्रवृत्ति निरन्तर रहेको आरोप लगाएका छन् ।

सोमबार काठमाडौंको माइतीघरमा जनमत पार्टीले आयोजना गरेको प्रदर्शनलाई सम्बोधन गर्दै अध्यक्ष राउतले नेपालमा जुनसुकै शासन व्यवस्था आए पनि मधेस र मधेसी समुदायका मागप्रति राज्य अनुदार रहेको बताएका हुन् ।

उनले मधेसबाट मत लिएर सरकार बनाउने तर नागरिकता, सुकुम्बासी व्यवस्थापन, स्वायत्तता लगायतका मुद्दामा अधिकार नदिने “षड्यन्त्र” हुँदै आएको दाबी गरे । राउतले राणा शासनकालदेखि नै मधेसमाथि उपनिवेशवादी व्यवहार गरिएको उल्लेख गर्दै पछिल्ला ७५ वर्षमा कांग्रेस र कम्युनिष्ट दलहरूले पनि मधेसलाई विभिन्न रूपमा ठगेको आरोप लगाए ।

उनका अनुसार २००७/००८ सालपछि विभिन्न राजनीतिक दल सत्तामा पुगे पनि मधेसी समुदायले पूर्ण अधिकार पाउन सकेको छैन । उनले सशस्त्र द्वन्द्व र माओवादी आन्दोलनका क्रममा समेत मधेसी समुदाय अपेक्षित उपलब्धिबाट वञ्चित भएको दाबी गरे ।

राउतले मधेसको राजनीतिक, सामाजिक तथा संवैधानिक अधिकार सुनिश्चित नभएसम्म विभेद अन्त्य नहुने बताए । उनले मधेसका माग तत्काल सम्बोधन गर्न सरकारसँग आग्रह गर्दै जिल्ला प्रशासन कार्यालयमार्फत सोमबार नै प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाइने जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?