काठमाडौं । विश्वकै ठूलो मानिने कृत्रिम बुद्धिमत्ता (एआई), कोडिङ तथा रोबोटिक्स प्रतियोगिता ‘कोडेभर ७.०’ मा उत्कृष्ट प्रदर्शन गर्दै अन्तर्राष्ट्रिय पुरस्कार जित्ने नेपाली विद्यार्थीलाई निमा एजुकेसन फाउण्डेसनले सम्मान गरेको छ ।
इण्डोनेसियाको जकार्तास्थित बिनुस विश्वविद्यालयमा आयोजित प्रतियोगितामा नेपालबाट सहभागी ९ टोलीमध्ये ६ टोलीले प्रतिष्ठित अन्तर्राष्ट्रिय पुरस्कार जित्न सफल भएका हुन् । बाँकी ३ टोलीले समेत विश्वका उत्कृष्ट ३० भित्र स्थान सुरक्षित गरेका छन् ।
काठमाडौंमा आयोजित विशेष कार्यक्रममा विजेता विद्यार्थी तथा टोलीलाई सम्मान गरिएको फाउण्डेसनले जनाएको छ । ७० भन्दा बढी देशका प्रतिस्पर्धी सहभागी रहेको प्रतियोगितामा नेपाली विद्यार्थीले उल्लेखनीय सफलता हासिल गरेका हुन् ।
७ देखि १८ वर्ष उमेर समूहका विद्यार्थीका लागि आयोजना गरिएको उक्त अन्तर्राष्ट्रिय प्रविधि प्रतियोगितामा नेपाली विद्यार्थीले असुरक्षित खानेपानी, वायु प्रदूषण, स्मार्ट कृषि तथा औषधि व्यवस्थापनजस्ता समसामयिक विषयमा आधारित नवप्रवर्तनात्मक परियोजना प्रस्तुत गरेका थिए ।
प्रतियोगितामा एसिया प्यासिफिक स्कुल, रिलायन्स पब्लिक स्कुल, डेजी बोर्डिङ इङ्गलिस सेकेन्डरी स्कुल तथा स्किल्सअप ग्लोबलसँग आबद्ध विद्यार्थीले विभिन्न विधामा पुरस्कार जितेका हुन् ।
निमा एजुकेसन फाउण्डेसनले नेपाली विद्यार्थीलाई संयुक्त राष्ट्रसंघको दिगो विकास लक्ष्य ९एसडिजी० अनुरूप प्रविधिमा आधारित समाधान विकास गर्न प्रोत्साहन र सहयोग गर्दै आएको जनाएको छ ।
यसैबीच, अन्तर्राष्ट्रिय मञ्चमा नेपाली विद्यार्थीले हासिल गरेको उपलब्धिको कदर गर्दै स्किल्सअप ग्लोबलले पनि विजेता विद्यार्थीलाई सम्मान गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया