बाराका जिल्ला सभापति यादवलाई कांग्रेसले गर्‍यो निलम्बन

लोकपथ
112
Shares

काठमाडौं । नेपाली कांग्रेसले बाराका जिल्ला सभापति राजेश राय यादवलाई निलम्बन गरेको छ ।

बिहीबार कांग्रेस केन्द्रीय अनुशासन समितिका संयोजक तारामान गुरुङको अध्यक्षतामा बसेको बैठकले यादवलाई निलम्बन गरेको हो ।

गत फागुन २१ को निर्वाचनमा पार्टीका उम्मेदवारहरुलाई असहयोग गरेको तथा विपक्षीहरुलाई सहयोग पुग्ने गरी काम गरेको भन्दै उनीविरुद्ध उजुरी परेको थियो ।

अनुशासन समितिले गत वैशाख ३० गते उनलाई ५ दिने स्पष्टीकरण सोधेको थियो । तर उनले स्पष्टीकरण बुझाएनन् । पुनः गत जेठ १२ गते उनलाई कांग्रेसले स्पष्टीकरण सोधेको थियो । तर दोस्रोपटक पनि स्पष्टीकरण नबुझाएपछि निलम्बन गरिएको कांग्रेस केन्द्रीय कार्यालयका सचिव दिनेश थापामगरले जानकारी दिए ।

‘नेपाली कांग्रेस बारा जिल्ला सभापति राजेश राय यादवले २०८२ फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा पार्टीको आधिकारिक उम्मेदवारलाई निर्वाचनमा हराउन लागेको भनी नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिमा उजुरी प्राप्त भएकोमा नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिबाट निज राजेश राय यादवलाई मिति २०८३–०१–३० गते अनुशासन उल्लघंनको कसुरमा ५ (पाँच) दिने स्पष्टिकरण सोधिएकोमा तोकिएको समयावधि भित्र स्पष्टिकरण नवुझाएकोले पुनः मिति २०८३–०२–१२ गतेका दिन ३ (तीन) दिने स्पष्टिकरण माग गरिएकोमा दोस्रो पटक समेत कुनै जवाफ नदिएको सन्दर्भमा यस विषयमा थप अनुसन्धान गरी अन्तिम निर्णयमा पुग्नु पर्ने देखिएको हुँदा निज राजेश राय यादवलाई बारा जिल्लाको सभापति पदमा राखिराख्दा अनुसन्धान कार्य समेत प्रभावित हुने भएकोले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा ३४ (८) (ङ) तथा ऐ. नियमावली, २०७६ को नियम २८ (३) बमोजिम अनुशासन उल्लघंन गरेको कसुरमा अन्तिम निर्णय नहुन्जेल सम्मका लागि राजेश राय यादवलाई नेपाली कांग्रेस बारा जिल्लाको सभापति पदमा रही कामकाज गर्न नपाउने गरी निलम्वन गर्ने निर्णय गर्दछ,’ जारी विज्ञप्तिमा भनिएको छ ।

त्यस्तै स्पष्टीकरण सोधिएकामध्ये अन्य ४ जनालाई भने सफाइ दिइएको छ ।

फागुन २१ को निर्वाचनका बेला पार्टीका उम्मेदवारहरुलाई असहयोग गरेको भन्दै बाराका उपसभापति अमिरीलाल राउत (पाल), सर्लाही क्षेत्र नं. २ को ‘१’ प्रदेश सभा सदस्य सकुन्ती देवी महरा, सर्लाही क्षेत्र नं. २ को ‘२’ प्रदेश सभा सदस्य कौशल किशोर राय र सर्लाही क्षेत्र नं. २ को ‘१’ प्रदेश सभा सदस्य जंगीलाल रायलाई समेत स्पष्टीकरण सोधिएको थियो । चारै जनाले उपयुक्त जवाफ दिएको भन्दै पार्टी काममा लाग्न निर्देशन दिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?