काठमाडौं । सूचना तथा सञ्चारमन्त्री डा.विक्रम तिमिल्सिनाले प्रविधि, कृत्रिम बौद्धिकता र ‘एल्गोरिदम’ले निर्देशित वर्तमान विश्वमा पनि साहित्य मानव सभ्यता बुझ्ने आधारभूत र सशक्त माध्यमका रूपमा अझै स्थापित रहेको बताएका छन् ।
‘हिमालयन लिट्रेचर फेस्टिभल एन्ड राइटर्स वर्कसप’ मा आज बोल्दै उनले साहित्यले समाज, मानव भावना र आत्मचिन्तनलाई जोड्ने महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको उल्लेख गरे ।
‘एल्गोरिदम, डेटा र तीव्र गतिले आकार दिइरहेको विश्वमा पनि मानिसहरू किन कविता लेख्छन्, किन कथा सुनाइरहन्छन् भन्ने प्रश्नको उत्तर साहित्य आफैं हो,‘उनले भने, ‘साहित्य मानव सभ्यताको आत्मबोध गर्ने सबैभन्दा सशक्त माध्यम हो ।’
मन्त्री तिमिल्सिनाले विश्व राजनीति, अर्थतन्त्र र प्रविधिमा तीव्र परिवर्तन भइरहे पनि मानिसहरू अझै अर्थ, सम्मान, पहिचान र आशाको खोजीमा रहेको बताए । सूचना प्रविधिको युगमा मानिसहरू पहिलेभन्दा धेरै जोडिए पनि एकअर्कालाई बुझ्ने क्षमता घट्दै गएको उनको भनाइ थियो ।
उनले साहित्यले तीव्र गतिमा दौडिरहेको संसारलाई केही क्षणका लागि भए पनि रोक्न बाध्य बनाउने उल्लेख गर्दै कविता, कथा र उपन्यासले मानवतासँग जोड्ने कार्य गरिरहेको बताए । लेखकहरूले केवल पाठ सिर्जना मात्र नगरी मानवताको संरक्षणमा योगदान दिइरहेको उनको धारणा थियो ।
आफ्नो साहित्यिक अनुभव स्मरण गर्दै उनले झण्डै एक दशक नेपाली साहित्य र सङ्गीतसम्बन्धी रेडियो कार्यक्रम सञ्चालन गरेको उल्लेख गरे । साहित्य र सङ्गीतले राजनीतिक, भौगोलिक र सामाजिक सीमाभन्दा बाहिर गएर मानिसहरूलाई जोड्न सक्ने उनले बताए ।
नेपालको सांस्कृतिक विविधता र भाषिक सम्पदाबारे चर्चा गर्दै उनले देशमा १२० भन्दा बढी भाषा बोलिने उल्लेख गरे । “हरेक भाषाले आफ्नै विश्वदृष्टि बोकेको हुन्छ, प्रत्येक समुदायका कथा, लोकसाहित्य र स्मृतिले हाम्रो साझा पहिचानलाई समृद्ध बनाउँछ,” उनले भने ।
सञ्चारमन्त्री तिमिल्सिनाले आधुनिक सञ्चार र सामाजिक सञ्जाल विकास हुनुअघि पनि कथा वाचन, लोकगीत र मौखिक परम्पराले समाजलाई जोड्ने काम गरेको स्मरण गराए । साहित्य मानव सभ्यताको विकाससँगै निरन्तर परिष्कृत हुँदै आएको उनले बताए ।
आफ्नो साहित्यिक यात्राबारे बोल्दै उनले सन् २००६ मा नेपाली गजलसङ्ग्रह प्रकाशन गरेको जानकारी दिए । उनले कविता र साहित्यले तथ्याङ्क, नीति वा औपचारिक भाषणले व्यक्त गर्न नसक्ने सत्यलाई उजागर गर्ने क्षमता राख्ने उल्लेख गरे ।
त्यसैगरी उनले नेपाली साहित्यिक परम्परामा आदिकवि भानुभक्त आचार्यदेखि महाकवि लक्ष्मीप्रसाद देवकोटासम्मका स्रष्टाले स्थानीय यथार्थलाई सार्वभौमिक मानवीय चेतनासँग जोडेको बताए । वर्तमान पुस्ताका लेखक, पत्रकार, अनुवादक र सर्जकहरूले सोही परम्परालाई नयाँ चुनौतीसँग जोड्दै अघि बढाइरहेको उनको भनाइ थियो ।
मन्त्री तिमिल्सिनाले साहित्यिक मेला र जमघटले विचारको सीमापार यात्रा सम्भव बनाउने उल्लेख गर्दै यस्ता कार्यक्रमहरूले नेपालका हिमाल, संस्कृति, भाषा र कथालाई विश्वसमुदायसम्म पुर्याउन सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
उनले समाज निर्माणमा पूर्वाधार, संस्था र अर्थतन्त्र जत्तिकै कल्पना, भाषा, संस्कृति र स्मृतिको पनि उत्तिकै महत्त्व रहेको बताए । सरकारले पूर्वाधार बनाउन सक्छ, संस्थाले प्रणाली दिन सक्छ, अर्थतन्त्रले समृद्धि दिन सक्छ तर लेखक, कलाकार, कवि र कथाकारहरूले राष्ट्रको भित्री जीवन निर्माण गर्छन्,‘उनले भने ।
साहित्यिक कार्यक्रमहरूले सिर्जनात्मक सहकार्य, अनुभव आदानप्रदान र सार्थक संवादका लागि महत्वपूर्ण मञ्च प्रदान गरिरहेको उनले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया