काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारत भ्रमणमा रहेका सत्तारुढ रास्वपाका सभापति रवि लामिछानेसँगको भेटपछि खुसी व्यक्त गरेका छन् ।
रविसँगको भेटपछि सामाजिक सञ्जाल फेसबुकमा लेख्दै प्रधानमन्त्री मोदीले रविले दुई देशले साझा र समृद्ध भविष्यका लागि मिलेर काम गर्ने इच्छा राखेको बताए । साथै आफू दुई देशबिच मिलेर काम गर्ने रविको कुरामा सहमत भएको उल्लेख गरे । आफूहरुको छिमेकी पहिलो नीति अन्तर्गत प्राथमिक साझेदार देश नेपाल रहेको उल्लेख गर्दै दुई देशहरुबिच विशेष र बहुआयामिक सम्बन्धलाई उचाइमा पुर्याउन नेपालको नयाँ सरकारसँग सहकार्य गर्न तत्पर रहेको बताए ।
‘राष्ट्रिय स्वतन्त्र पार्टी नेपालका अध्यक्ष श्री रवि लामिछानेलाई भेट्न पाउँदा खुसी लाग्यो। साझा र समृद्ध भविष्यको लागि मिलेर काम गर्ने उहाँको इच्छालाई स्वागत गर्दछु र पूर्ण रूपमा सहमत पनि छु। हाम्रो छिमेकी पहिलो नीति अन्तर्गत नेपाल एक प्राथमिक साझेदार देश हो र हामी हाम्रा दुई देशहरूबीचको विशेष र बहुआयामिक सम्बन्धलाई अझ उचाइमा पुर्याउन नयाँ सरकारसँग सहकार्य गर्न तत्पर छौँ,’ मोदीले सामाजिक सञ्जालमा भनेका छन् ।
सोमबार रविसहितको प्रतिनिधिमण्डलको टोली भारत प्रस्थान गरेको थियो । यसअघि नै मंगलबार रविले भारतीय जनता पार्टी (भाजपा) का अध्यक्षसहित भारतीय विदेशमन्त्री र गृहमन्त्री लगायत उच्च पदस्थ व्यक्तिहरुसँग भेटघाट गरिसकेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया