लुम्बिनी प्रदेशका एमालेका चार मन्त्रीले दिए राजीनामा, अब यी व्यक्ति बन्नेछन् मन्त्री

लोकपथ
84
Shares

काठमाडौं । लुम्बिनी प्रदेश सरकारमा एमालेबाट मन्त्री भएकाहरूले आज बुधबार सामूहिक राजीनामा दिएका छन् ।  

मुख्यमन्त्री निकट स्रोतका अनुसार भौतिक पूर्वाधार विकास मन्त्री भूमिश्वर ढकाल, कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री दिनेश पन्थी, स्वास्थ्य मन्त्री खेम सारुमगर र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री सीता शर्मा चौधरीले एमालेबाटै मुख्यमन्त्री बनेका चेतनारायण आचार्यसमक्ष राजीनामा बुझाएका हुन् । 

एमालेले पुराना मन्त्री फिर्ता बोलाएर नयाँ नियुक्त गर्न लागेको बुझिएको छ ।

कांग्रेससँगको सत्ता साझेदारी तथा सरकारको नेतृत्व परिवर्तनको विषयमा लामो समयदेखि छलफल भइरहेका बेला एमालेले आफ्ना मन्त्रीहरू परिवर्तन गर्ने निर्णय गरेको हो ।

स्रोतका अनुसार, पार्टी अध्यक्ष केपी शर्मा ओलीको निर्देशनपछि मुख्यमन्त्री आचार्यले एमालेका मन्त्रीहरूलाई राजीनामा दिन आग्रह गरेका थिए ।

एमाले स्रोतका अनुसार मन्त्रीका लागि गुल्मीका डिल्लीराज भुसाल, अर्घाखाँचीका रामजी घिमिरे, रुपन्देहीका तुलसीप्रसाद चौधरी र बाँकेका रत्न खत्रीको नाम सिफारिस गरिएको छ । खत्री यसअघि सामाजिक विकास मन्त्रीको जिम्मेवारी सम्हालिसकेका छन् भने भुसाल, घिमिरे र चौधरी मन्त्रीका लागि नयाँ अनुहार हुन् ।

एमालेले दोस्रोपटक प्रदेशसभामा निर्वाचित भएर पनि मन्त्री बन्ने अवसर नपाएका सांसदलाई प्राथमिकतामा राखेको छ । सोही आधारमा रामजी घिमिरे र तुलसीप्रसाद चौधरी सिफारिसमा परेका हुन् । प्रदेशसभाका ज्येष्ठ सदस्य भएकाले डिल्लीराज भुसाललाई पनि मन्त्रीका लागि अघि सारिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?