बोर्डले निजी अस्पताललाई भन्यो : ‘आकस्मिक बिरामीलाई मात्र बीमा सुविधा दिनु’

लोकपथ
35
Shares

काठमाडौं । सरकारले निजी अस्पतालहरूमा स्वास्थ्य बीमाको सुविधा अब आकस्मिक उपचार आवश्यक भएका बिरामीलाई मात्र उपलब्ध गराइने जनाएको छ ।

स्वास्थ्य बीमा बोर्डले सामान्य प्रकृतिका बिरामीलाई आकस्मिक सेवा देखाएर उपचार गरी बीमाको दाबी पेस गरे त्यस्तो भुक्तानी नदिने स्पष्ट पारेको हो ।

बोर्डले निजी स्वास्थ्य सेवा प्रदायक संस्थाहरूलाई सूचना जारी गर्दै बिरामीको अवस्था साँच्चिकै आकस्मिक भएमा मात्र आकस्मिक स्वास्थ्य सेवा दिन निर्देशन दिएको हो ।

उपचारका क्रममा बिरामीलाई भर्ना गर्न वा शल्यक्रिया गर्न आवश्यक परेमा उपचार प्रक्रिया पूरा गरी डिस्चार्ज गर्न पनि भनिएको छ ।

बोर्डले सेवाग्राहीलाई पनि नियम पालना गर्न र स्वास्थ्य संस्था वा स्वास्थ्यकर्मीमाथि अनावश्यक दबाब नदिन आग्रह गरेको छ ।

यसअघि बढ्दो वित्तीय संकटलाई कारण देखाउँदै बोर्डले जेठ १६ गतेदेखि अर्को निर्णय नभएसम्म निजी अस्पतालबाट दिइँदै आएको आकस्मिक स्वास्थ्य बीमा सेवा सीमित गर्ने निर्णय गरेको थियो ।

हाल ३६ वटा निजी स्वास्थ्य संस्थाले स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गरिरहेका छन् । तर, निजी अस्पताललाई वर्षौंदेखि दिनुपर्ने अर्बौं रुपैयाँ भुक्तानी रोकिँदा स्वास्थ्य बीमा कार्यक्रम आर्थिक संकटमा परेको छ । बक्यौता भुक्तानी र प्रशासनिक कमजोरीका कारण कार्यक्रमको प्रभावकारितामाथि प्रश्न उठ्न थालेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?