जलवायु परिवर्तनले हिमाल संकटमा, विश्व सहकार्य आवश्यक : डा. रामवरण यादव

लोकपथ
42
Shares

काठमाडौं । नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले हिमालय क्षेत्रको संरक्षण नेपालको मात्र नभई विश्वकै साझा दायित्व भएको बताएका छन् ।

‘एएमएस एभरेस्ट टुरिजम अवार्ड २०२६’ लाई सम्बोधन गर्दै उनले जलवायु परिवर्तनका कारण हिमाल, हिमनदी र पारिस्थितिकीय प्रणालीमा परेको असरप्रति चिन्ता व्यक्त गर्दै यसको संरक्षणका लागि विश्वव्यापी सहकार्य आवश्यक रहेकोमा जोड दिए ।

पूर्वराष्ट्रपति यादवले नेपालको भौगोलिक विविधता र सामाजिक एकताको चर्चा गर्दै तराई, पहाड र हिमालको विशिष्ट योगदानले राष्ट्रिय पहिचान मजबुत बनेको बताए । उनले तराईलाई कृषि र अध्यात्मको केन्द्र, पहाडलाई दृढता र संस्कृतिको धरोहर तथा हिमाली क्षेत्रलाई नेपालको गौरवका रूपमा चित्रण गर्दै विविधता नै नेपालको शक्ति भएको उल्लेख गरे ।

सगरमाथालाई मानवीय साहस, दृढ संकल्प र अन्तर्राष्ट्रिय मित्रताको प्रतीकका रूपमा व्याख्या गर्दै उनले पर्यटन क्षेत्रले विभिन्न संस्कृति र राष्ट्रहरूबीच आपसी समझदारी अभिवृद्धि गर्ने धारणा राखे । पर्यटन नेपालको समृद्धिको मुख्य आधार भएको उनको भनाइ थियो ।

उनले भने, ‘नेपालका हिमालहरू विश्वकै पहिचान हुन् । यसको सुरक्षा र संवर्द्धनका लागि अन्तर्राष्ट्रिय समुदायको ऐक्यबद्धता अपरिहार्य छ । पर्यटनले सीमापारिका मानिसहरूलाई जोड्छ र अवसरहरू सिर्जना गर्छ । तर हामीले हाम्रा संवेदनशील हिमाली पर्यावरण जोगाउने जिम्मेवारीलाई भुल्नु हुँदैन ।

उक्त अवसरमा पर्वतारोही, पथप्रदर्शक, उद्धारकर्मी, पर्यटन व्यवसायी तथा संरक्षणकर्मीहरूको योगदानको कदर गर्दै सम्मान गरिएको थियो । कार्यक्रममा विभिन्न देशका कूटनीतिक प्रतिनिधि, पर्यटन क्षेत्रका अगुवा तथा अन्तर्राष्ट्रिय व्यक्तित्वहरूको सहभागिता रहेको थियो ।

यस अवसरमा पूर्वराष्ट्रपति यादवले विदेशी पाहुनाहरूलाई बुद्ध र सगरमाथाको देश नेपालमा स्वागत गर्दै नेपाललाई विश्वव्यापी संवाद तथा दिगो हिमाली विकासको केन्द्रका रूपमा स्थापित गर्न यस्ता मञ्चहरू प्रभावकारी हुने विश्वास व्यक्त गरे ।

यस वर्षको प्रतिष्ठित ‘लाइफ टाइम अचिभमेन्ट अवार्ड’ दिग्गज पर्वतारोही पेर्टेम्बा शेर्पा लाई प्रदान गरिएको छ । शेर्पाले सन् १९७५ मा दक्षिण–पश्चिम मार्गबाट सगरमाथाको शिखरमा पहिलो सफल आरोहण टोलीसँगै पुगेर इतिहास रचेका थिए ।

पर्यटन क्षेत्रमा पुर्‍याएको योगदानको उच्च कदर गर्दै पूर्वराष्ट्रपति यादवले उनलाई दोसल्ला ओढाएर प्रमाणपत्रसहित ५१ हजार १ सय ५१ रुपैयाँ नगद पुरस्कार प्रदान गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?