निर्वाचन परिणामलाई ‘सुनामी’ को संज्ञा दिँदै माधव नेपालले भने– ‘विचलित नहुन’

लोकपथ
56
Shares

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले पछिल्लो प्रतिनिधिसभा निर्वाचन परिणामप्रति आशंका व्यक्त गर्दै निर्वाचन प्रक्रियाका विभिन्न पक्षबारे प्रश्न उठाएका छन् ।

शनिबार काठमाडौंमा आयोजित अखिल नेपाल महिला संगठनको एकता राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले निर्वाचनमा सेना, सरकार, निर्वाचन आयोग तथा मतपत्र व्यवस्थापनको भूमिकाबारे गम्भीर प्रश्न उठिरहेको बताए ।

उनले पछिल्लो निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले प्राप्त गरेको उल्लेखनीय नतिजालाई ‘सुनामी’को संज्ञा दिँदै त्यसका पछाडि रहेका कारणहरूको खोजी भइरहेको दाबी गरे ।

नेपालले भने, ‘यो सुनामी मात्रै हो, यसको पछाडिका कारणहरू एक दिन खुल्दै जानेछन् ।’ उनले पार्टी कार्यकर्तालाई निर्वाचन परिणामबाट विचलित नहुन र रक्षात्मक अवस्थामा नजान आग्रह गरे ।

उनका अनुसार निर्वाचन प्रक्रियासम्बन्धी विभिन्न विषयमा भित्रैबाट समेत तथ्य सार्वजनिक हुने संकेतहरू देखिन थालेका छन् । उनले सेना, सरकार, निर्वाचन आयोग तथा मतपत्रको अवस्थाबारे उठिरहेका प्रश्नहरू भविष्यमा स्पष्ट हुने विश्वास व्यक्त गरे।

कार्यक्रममा उनले २०४७ सालदेखि संविधान निर्माण र पछिल्लो संविधानसभासम्म महिला तथा दलित समुदायको प्रतिनिधित्व सुनिश्चित गर्न आफूहरूको भूमिका रहेको उल्लेख गरे । उनले वर्तमान संविधानमा महिला नेतृत्व र सहभागिता सुनिश्चित गर्ने व्यवस्था गरिएको बताए ।

नेपालले नयाँ उदाएका राजनीतिक शक्तिका प्रतिनिधिहरूलाई लक्षित गर्दै देशको लोकतान्त्रिक परिवर्तन र अधिकार प्राप्तिको इतिहास बुझ्न आवश्यक रहेको टिप्पणी पनि गरे ।

उनले अन्त्यमा पार्टी पंक्तिलाई विगतका उपलब्धि रक्षा गर्दै आगामी दिनमा अझ दृढ भएर अघि बढ्न आह्वान गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?