संसद् लोकतान्त्रिक मूल्यमान्यता र राष्ट्रियहितको संरक्षण गर्ने मञ्च हो : सभामुख अर्याल

लोकपथ
42
Shares

काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले संसद् केवल कानुन निर्माण गर्ने थलो मात्र नभई लोकतान्त्रिक मूल्यमान्यता, उत्तरदायित्व, संवाद, सहमति र राष्ट्रिय हितको संरक्षण गर्ने प्रमुख मञ्च भएको बताएका छन् ।

१९औँ गणतन्त्र दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै सभामुख अर्यालले लोकतन्त्रलाई थप सुदृढ, जिम्मेवार र परिणाममुखी बनाउने दिशामा संसद्को भूमिका अझ प्रभावकारी हुनुपर्नेमा जोड दिएका हुन् ।

उनका अनुसार लोकतन्त्रको सुदृढीकरणबाट मात्र सुशासन, भ्रष्टाचार नियन्त्रण र जनमुखी विकास सम्भव हुने र राष्ट्र समृद्ध बन्ने विश्वास व्यक्त गरिएको छ ।

सभामुख अर्यालले २०६५ जेठ १५ गते संविधानसभाको पहिलो बैठकबाट संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल घोषणा हुनु नेपाली जनताको सार्वभौम अधिकार, लोकतान्त्रिक अभ्यास, समावेशी शासन प्रणाली र सामाजिक न्यायतर्फको ऐतिहासिक उपलब्धि भएको उल्लेख गरे ।

यस अवसरमा उनले लोकतन्त्र, गणतन्त्र, मानव अधिकार, समावेशिता, सामाजिक न्याय तथा प्रगतिशील परिवर्तनका लागि भएका जनआन्दोलन, जनयुद्ध, मधेस आन्दोलन, आदिवासी जनजाति आन्दोलन, महिला आन्दोलनलगायतका संघर्षमा जीवन उत्सर्ग गर्ने सहिदप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् ।

त्यस्तै घाइते, बेपत्ता तथा आन्दोलनका सम्पूर्ण योद्धा र अभियन्ताप्रति उच्च सम्मान व्यक्त गर्दै उनले लोकतन्त्रको वास्तविक अर्थ नागरिकको जीवनस्तरमा सकारात्मक परिवर्तन, सामाजिक न्याय, अवसरको समान पहुँच र सम्मानपूर्ण जीवनयापनसँग जोडिएको स्पष्ट पारे ।

सभामुख अर्यालले प्रतिनिधिसभा जनताको सर्वोच्च प्रतिनिधिमूलक संस्था भएकाले जनभावना र राष्ट्रिय आकांक्षालाई नीति, कानुन र संसदीय अभ्यासमार्फत सम्बोधन गर्ने दायित्व निर्वाह गरिरहेको पनि उल्लेख गरे ।

अन्त्यमा, गणतन्त्र दिवसले सबैलाई राष्ट्रिय एकता, लोकतान्त्रिक संस्कार, संवैधानिक सर्वोच्चता र समृद्ध नेपाल निर्माणको साझा संकल्पतर्फ थप प्रेरित गरोस् भन्ने शुभकामना व्यक्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?