काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमबाट उत्तरदायी र जनमुखी सेवा प्रवाहलाई सुदृढ बनाउँदै सुशासन, विकास र समृद्धिको लक्ष्य प्राप्ति आजको राष्ट्रिय आवश्यकता भएको बताएका छन् ।
राष्ट्रपति पौडेलले १९औँ गणतन्त्र दिवसका अवसरमा आज शुभकामना व्यक्त गर्दै संविधानले परिकल्पना गरेको सामाजिक न्याय, आर्थिक समृद्धि तथा समावेशी विकास हासिल गर्न सबै तहका सरकार, निजी क्षेत्र तथा नागरिक समाजबीच सहकार्यको आवश्यकता औँल्याएका छन् ।
उनले भने, ‘गणतन्त्र दिवसले नेपालको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता, स्वाधीनता, राष्ट्रिय हित र स्वाभिमानलाई अक्षुण्ण राखी दिगो, फराकिलो र समन्यायिक आर्थिक वृद्धि हासिल गर्दै सभ्य, सुसंस्कृत तथा समुन्समाज निर्माण गर्न आआफ्नो क्षेत्रबाट योगदान पुर्याउनका लागि सम्पूर्ण राजनीतिक दल, नागरिक समाज तथा सम्बद्ध सबैमा हार्दिक आह्वान गर्दछु ।’
नेपाली जनताको लामो सङ्घर्ष र बलिदानको प्रतिफलस्वरूप स्थापित जननिर्वाचित संविधानसभाको पहिलो बैठकबाट २०६५ जेठ १५ गते नेपालमा गणतन्त्र घोषणा गरेको ऐतिहासिक दिनको सुखद् स्मरण गर्दै प्रत्येक वर्ष जेठ १५ गतेलाई गणतन्त्र दिवसका रूपमा मनाउँदै आएका छौँ । साथै, राष्ट्रपति पौडेलले गणतन्त्र स्थापनाका लागि विभिन्न समयमा भएका आन्दोलनको नेतृत्व गर्ने राजनीतिक दलका श्रद्धेय नेताहरूप्रति सम्मान व्यक्त गर्दै आन्दोलनमा सहभागी आमनागरिक, जनसमुदाय एवं राजनीतिक कार्यकर्ताको योगदानको उच्च प्रशंसा पनि गरेका छन् ।
उनले भनेका छन्, ‘लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि आफ्नो अमूल्य जीवन उत्सर्ग गर्नुहुने सम्पूर्ण ज्ञातअज्ञात सहीदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु, आजको यस ऐतिहासिक दिवसले हामी सबै नेपालीहरूबीच आपसी विश्वास, सहकार्य र राष्ट्रिय एकताको भावना अझ सुदृढ हुँदै जाओस् भन्ने कामना व्यक्त गर्दछु ।’
यसैगरी उपराष्ट्रपति रामसहायप्रसाद यादवले उदारवादी आदर्श, समावेशिता, समानता र न्यायका आधारमा लोकतन्त्रलाई अझ जीवन्त बनाउन दृढ सङ्कल्पका साथ अघि बढ्नुपर्ने आवश्यकता औँल्याएका छन् ।
गणतन्त्र दिवस, २०८३ का अवसरमा आज शुभकामना व्यक्त गर्दै उनले भनेका छन्, ‘गणतन्त्र जनताको शासन प्रणाली हो, जहाँ सम्पूर्ण शक्ति जनतामा निहित हुन्छ, जनताद्वारा निर्वाचित जनप्रतिनिधिले जनताप्रति आफ्नो जिम्मेवारी निर्वाह गर्नु नै गणतन्त्रको मूल मर्म हो, संविधानले दिएको अधिकार र कर्तव्यलाई समान रूपमा आत्मसात् गर्दै अघि बढ्न सकेमात्र हाम्रो सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था सबल, सुदृढ र जीवन्त रहन सक्छ ।’
‘गणतन्त्र दिवस’ हाम्रा लागि उत्सवमात्र नभई आत्ममूल्याङ्कनको अवसर पनि भएको उल्लेख गर्दै उपराष्ट्रपति यादवले जनअपेक्षाअनुरूप संवेदनशील शासन प्रणाली निर्माण गर्न सक्यौँ वा सकेनौँ भन्ने प्रश्नको उत्तर खोज्ने दिन भएको बताएका छन् । वञ्चित, उत्पीडित, उपेक्षित समुदायको सक्रिय सहभागिताबिना कुनै पनि गणतन्त्र बलियो र स्थायी हुन सक्दैन भन्ने गहिरो सत्यलाई हामीले सदैव सम्मान गर्न सक्नुपर्ने उनको भनाइ छ ।
यता पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक गणतन्त्रका मूल्य र मान्यतालाई अझ बढी परिपक्व र परिणाममुखी बनाउन दृढ सङ्कल्पित हुन आह्वान गरेकी छन् ।
१९औँ गणतन्त्र दिवसका अवसरमा आज स्वदेश तथा विदेशमा रहेकाका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक बधाई ज्ञापन गर्दै सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गर्दै उनले भनेकी छन्, ‘गणतन्त्र दिवसको यस सुखद् अवसरमा म राज्यका सम्पूर्ण निकाय, राजनीतिक दल र आमनागरिकलाई सङ्घीय लोकतान्त्रिक गणतन्त्रका मूल्य र मान्यताहरूलाई अझ बढी परिपक्व र परिणाममुखी बनाउन दृढ सङ्कल्पित हुन आह्वान गर्दछु ।’
हाम्रो राष्ट्रिय लक्ष्य अब सुशासन, आर्थिक समृद्धि र सामाजिक न्याय हुनुपर्ने उल्लेख गर्दै पूर्वराष्ट्रपति भण्डारीले मुलुकको स्वाधीनता, राष्ट्रिय एकता र भौगोलिक अखण्डतालाई अक्षुण्ण राख्दै आत्मनिर्भर अर्थतन्त्रको निर्माणमा सबै जुट्नुपर्ने आवश्यकता औँल्याइन् ।
यसैगरी पूर्वप्रधानमन्त्रीहरु केपी शर्मा ओली, पुष्पकमल दाहाल प्रचण्ड लगायतका व्यक्तिहरुले गणतन्त्र दिवसको शुभकामना दिएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया