काठमाडौं । चीनलाई पराजित गर्दै नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले एसियन गेम्स महिला छनोटमा विजयी यात्रा सुरुवात गरेको छ ।
आज बिहीबार भएको आफ्नो पहिलो खेलमा नेपालले चीनविरुद्ध १९ रनको जित दर्ता गरेको हो । यो जितसँगै नेपालले समूह ‘बी’को शीर्ष स्थानमा आफूलाई उभ्याएको छ ।
मलेसियाको क्वालालाम्पुरस्थित वायोमास ओभलमा टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा पाँच विकेटको क्षतिमा १२५ रनको योगफल तयार पारेको थियो ।
नेपालले दिएको १२६ रनको लक्ष्य पछ्याएको चीनले निर्धारित २० ओभरमा पाँच विकेटको क्षतिमा १०६ रन मात्र बनाएको थियो । चीनलाई कम स्कोरमा रोक्न रिया शर्माले दुई विकेट, मनीषा उपाध्याय, कविता कुँवर र पूजा महतोले समान एक विकेट लिएका थिए ।
नेपालका लागि उपकप्तान पूजा महतोले सर्वाधिक ६३ रनको योगदान दिइन् । उनले ५७ बलमा ६ चौका सहयोगमा ६३ रन बनाउँदा रन आउट हुन पुगिन् । रुवि पोडार २२ र रुविना क्षेत्री चार रनमा अविजित रहे । सोनी पाख्रिनले १८ रन थपिन् ।
चीनले आजसहित दुई खेल खेलेकोमा एउटामा हार र अर्कोमा जित निकाल्दै २ अंकसहित तालिकाको दोस्रो स्थानमा आफूलाई उभ्याएको छ । इन्डोनेसिया भने तालिकाको पुछारमा छ । इन्डोनेसिया यसअघि चीनसँग पराजित बनेको थियो ।
समूह चरणको अन्तिम खेल अब नेपालले इन्डोनेसियासँग खेल्ने छ । यो खेल शुक्रबार हुँदैछ ।
उता, समूह ‘ए’मा लगातार दोस्रो जित निकाल्दै थाइल्यान्डले सेमिफाइनलमा स्थान पक्का गरिसकेको छ । घरेलु टोली मलेसिया र हङकङ दोस्रो र तेस्रो स्थानमा छन् । समूह ‘बी’मा यी दुई टोली भिड्न बाँकी छन् । यो खेलको विजेताले सेमिफाइनलमा स्थान बनाउनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया