फिर्के खोलाघरका संरचना हटाउन तीनतिरबाट डोजर चलाइँदै

लोकपथ
98
Shares

पोखरा ।  पोखराको फिर्के खोलाको खोलाघर मिचेर बनाइएका संरचनामाथि आजदेखि डोजर चलाइने भएको छ । पोखरा महानगरपालिकाले बिहान १० बजेदेखि विभिन्न ३ स्थानबाट डोजर चलाउने तयारी गरेको हो । 

त्यसका लागि आवश्यक सुरक्षा व्यवस्था मिलाउन सम्बन्धित वडा अध्यक्ष, कार्यपालिका सदस्य, नगर सभा सदस्य, सचिव तथा कर्मचारीहरूलाई अनिवार्य उपस्थितिका लागि महानगरले अनुरोध गरेको छ । 

डोजर चलाउनुपूर्व विभाजन गरिएका ३ केन्द्रहरूमा अँधेरीकुना केन्द्र (विन्ध्यवासिनी मन्दिरभन्दा पश्चिम), बूढानीलकण्ठ मन्दिर केन्द्र (फिर्के पुल) र जिरो किलोमिटर केन्द्र (पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनीको कार्यालय अगाडि) हुन् । 

यसअघिको नापजाँचमा खोलाघर मिचेर बनाइएका १ सय ६० संरचना रहेको पाइएको थियो । ती संरचना हटाउनेबारे पोखरा महानगरले २०८० सालमा पनि प्रयास थालेको थियो । तर उच्च अदालत पोखरामा रिट प¥यो । लामो समयपछि अदालतले महानगरकै पक्षमा फैसला गरेपछि पुनः महानगर अघि बढेको हो । हालैमात्र महानगरले अवैध संरचना हटाउन ३५ दिने सूचना निकालेको थियो । जसको म्याद ९ जेठमा सकिएको छ । 

पोखराको वडा नम्बर १८, अँधेरीकुनाबाट सुरु हुने फिर्केखोलाले पोखराका ३३ वडाहरूमध्ये ८ वटा वडाहरू छुन्छ । १८ वडाबाट सुरु भई वडा २, ४, ५, ६, ७, ८ र १७ भई बग्छ । 

फेवातालमा मिसिने फिर्केखोला केही दशकअघिसम्म पिउनयोग्य पानी बग्ने खोला रहेको बुढापाका बताउँछन् । बढ्दो सहरीकरणका कारण यो क्रमशः दुर्गन्धित र अतिक्रमणमा पर्दै गएको छ । 

खोलाघर खाली भएपछि मापदण्डभित्रका संरचना तथा फिर्के करिडोर परियोजनाबारे व्यापक छलफल गरी योजनाबद्ध रूपमा कार्यान्वयन गरिने पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य बताउँछन् ।

खोलाघरको सिमाना १० मिटर कायम रहेकामा महानगरले सरोकारवाला तथा विज्ञसँग छलफलपछि घटाएर ६ मिटर बनाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?