…. यो आस जगाउने र जोगाउने बेला हो

लोकपथ
28
Shares

अनु रेग्मी/जुम्ला ।

नेपाल यति बेला इतिहासकै एउटा संवेदनशील मोडमा छ । राजनीतिक परिवर्तन, सामाजिक रूपान्तरण, आर्थिक दबाब, वैदेशिक पलायन, युवाको असन्तोष, प्रविधिको प्रभाव तथा नयाँ राजनीतिक शक्तिको उदयले नेपाली समाजलाई गहिरो रूपमा प्रभावित पारिरहेको छ । बाहिरबाट हेर्दा नेपाल परिवर्तनतर्फ अघि बढिरहेको देखिन्छ, तर भित्री यथार्थ भने अनेक विरोधाभासको बिचमा उभिएको छ । कतै विकासको सपना छ, कतै बेरोजगारीको पीडा; कतै नयाँ पुस्ताको विद्रोह छ, कतै पुरानो राजनीतिक संस्कारको निरन्तरता । यही मिश्रित अवस्था नै सङ्क्रमणकालीन नेपालको वास्तविक सामाजिक चित्र हो ।

सङ्क्रमणकालीन समाज भन्नाले पुरानो संरचना र नयाँ व्यवस्थाबिचको संघर्षपूर्ण अवस्था भनेर बुझ्नुपर्ने हुन्छ । नेपालले पछिल्ला तीन दशकमा यही अवस्था अनुभव गरिरहेको छ । राजतन्त्रको अन्त्यदेखि संघीय लोकतान्त्रिक गणतन्त्रसम्म आइपुग्दा देशले ठुलो राजनीतिक यात्रा तय गर्‍यो । नयाँ संविधान निर्माण भयो, संघीयता लागू भयो, स्थानीय सरकार बने, नागरिक अधिकारका विषयमा बहस बढ्यो । तर यी राजनीतिक उपलब्धिका बिचमा आम नागरिकको दैनिक जीवन भने अझै असुरक्षा, आर्थिक कठिनाइ र अनिश्चितताबाट मुक्त हुन सकेको छैन । बरु दिनानुदिन युवा शक्ति र आम नागरिकहरूमा असन्तुष्टि, भय र आक्रोश बढ्दै गएको छ ।

राजनीतिक परिवर्तन तर निरन्तरको अस्थिरता

नेपालको राजनीतिक इतिहास भनेको आन्दोलन, संघर्ष र परिवर्तनको इतिहास हो । २०४६ सालको जनआन्दोलन, दशक लामो सशस्त्र द्वन्द्व, २०६२।०६३ को दोस्रो जनआन्दोलन र संविधान निर्माण प्रक्रियाले देशको राजनीतिक स्वरूपमा आमूल परिवर्तन ल्यायो । तर राजनीतिक र आर्थिक स्थायित्वका लागि भनिएका आन्दोलनहरूले विश्राम लिनै पाएन । किनभने एकपछि अर्को क्रान्ति र आन्दोलन हुँदै गयो अनि अस्थिरता बढ्दै गयो । सरकारहरू बारम्बार फेरिए, गठबन्धनहरू केवल दलीय र राजनीतिक स्वार्थमै केन्द्रित बन्यो, अनि नागरिकमा राजनीतिक दलप्रतिको विश्वास क्रमशः कमजोर बन्दै गयो ।
सामान्य नागरिकले अपेक्षा गर्ने भनेकै लोकतन्त्रसँगै सुशासन, रोजगारी, विकास र समानता नै हो । तर देशमा भ्रष्टाचार, ढिलासुस्ती, दलगत भागबन्डा र कमजोर कार्यान्वयनका कारण जनअपेक्षा पूरा हुन सकेन । बरु यही असन्तुष्टिले युवापुस्तामा क्रमशः विद्रोहको भावना बढाउँदै गयो ।

प्रशासनिक क्षमता, संस्थागत सुधार, आर्थिक नीति, विदेश सम्बन्ध, संघीय व्यवस्थापन तथा सामाजिक समावेशिताजस्ता विषयमा दीर्घकालीन दृष्टि आवश्यक हुन्छ, नत्र जुन गतिमा उकालो यात्रा तय गरिएको थियो, त्यो भन्दा तीव्र गतिमा ओरालो लाग्ने दिन आउनेछ ……….

पछिल्ला वर्षहरूमा नेपालमा परम्परागत राजनीतिक दलप्रति गहिरो निराशा बढ्दै गएको छ र नयाँ भनिएका क्षेत्रीय दलहरू पनि क्रमशः पुराना बन्दै जान थालेका छन् । नेपाली कांग्रेस, एमाले र माओवादीजस्ता दलहरू दशकौँसम्म सत्तामा रहने तर आम नागरिकका जीवनमा अपेक्षित परिवर्तन ल्याउन नसक्ने दलका रूपमा चित्रित भए र आलोचनाको केन्द्रमा रह्यो । अनि यही पृष्ठभूमिमा नयाँ राजनीतिक शक्तिको खोजी तीव्र बन्यो ।

नयाँ राजनीतिक शक्तिको उदय र युवाको आशा

हालको नेपाली राजनीतिक परिदृश्यमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र वालेन्द्र शाहको उदयलाई केवल राजनीतिक घटना मात्रै हो भन्न सकिँदैन । यो नेपाली समाजभित्र लामो समयदेखि जम्मा भएको असन्तुष्टिहरूका विस्फोट पनि हो । युवापुस्ता परम्परागत राजनीतिक शैलीबाट दिक्क भइसकेका थिए । उनीहरूलाई भाषणभन्दा काम चाहिएको थियो, नारा होइन परिणाम खोजिएको थियो ।

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारका रूपमा वालेन्द्र शाहको विजयले नेपाली राजनीतिमा नयाँ संकेत दिएको थियो । धेरै युवाले उनलाई ‘व्यवस्था विरुद्धको आवाज’का रूपमा हेरे । सडक व्यवस्थापन, अवैध संरचना हटाउने अभियान, प्रशासनिक कडाइ तथा प्रत्यक्ष शैलीका कारण उनी छोटो समयमै लोकप्रिय बने ।

त्यसपछि राष्ट्रिय स्वतन्त्र पार्टीको तीव्र उदयले नेपालको राजनीतिक समीकरणलाई नै परिवर्तन गरिदियो । युवापुस्ताले सामाजिक सञ्जालमार्फत पुराना दलविरुद्ध व्यापक असन्तुष्टि जाहेर गर्न थाले । अहिलेको राजनीतिक अवस्थालाई धेरैले ‘पुरानो राजनीतिक युगको अन्त्य र नयाँ राजनीतिक प्रयोगको सुरुवात’का रूपमा व्याख्या गरिरहेका छन् ।

के नयाँ राजनीतिक शक्ति वास्तवमै पुराना दलका शैली वा तौरतरिका तोड्न सक्षम हुनेछ ? वा समयसँगै ऊ पनि पुरानो राजनीतिक दल बन्दै नयाँ शक्तिको खोजी हुने छ ?

तर नयाँ शक्तिप्रतिको अपेक्षा जति ठुलो छ, चुनौती पनि त्यति नै गम्भीर छ । नेपालजस्तो जटिल सामाजिक संरचना भएको देश चलाउनु केवल लोकप्रियता वा भाषणले मात्रै सम्भव हुँदैन । प्रशासनिक क्षमता, संस्थागत सुधार, आर्थिक नीति, विदेश सम्बन्ध, संघीय व्यवस्थापन तथा सामाजिक समावेशिताजस्ता विषयमा दीर्घकालीन दृष्टि आवश्यक हुन्छ । यी विषयहरूमा ध्यान दिन सकिएन भने जुन गतिमा उकालो यात्रा तय गरिएको थियो, त्यो भन्दा तीव्र गतिमा ओरालो लाग्ने दिन आउनेछ ।

आज नेपाली समाजमा एउटा ठुलो प्रश्न उठिरहेको छ- ‘के नयाँ राजनीतिक शक्ति वास्तवमै पुराना दलका शैली वा तौरतरिका तोड्न सक्षम हुनेछ ? वा समयसँगै ऊ पनि पुरानो राजनीतिक दल बन्दै नयाँ शक्तिको खोजी हुने छ ?

वर्तमान सरकार र जनअपेक्षाको दबाब
हालको राजनीतिक परिस्थितिमा वालेन्द्र शाह नेतृत्वको सरकारलाई धेरै नागरिकले परिवर्तनको प्रतीकका रूपमा हेरेका छन् । विशेष गरी युवापुस्तामा ‘अब केही नयाँ हुन सक्छ’ भन्ने आशा देखिन्छ । भ्रष्टाचार नियन्त्रण, सार्वजनिक सेवामा सुधार, भिआइपी संस्कृतिको अन्त्य, प्रशासनिक पारदर्शिता तथा डिजिटल शासनजस्ता विषय अहिले व्यापक बहसमा छन् ।

हालै सरकारले सार्वजनिक पदमा बसेका व्यक्तिहरूको सम्पत्ति छानबिन गर्ने प्रक्रिया अघि बढाएको चर्चा व्यापक भयो । धेरैले यसलाई भ्रष्टाचारविरुद्धको सकारात्मक कदम माने भने केहीले यसलाई राजनीतिक लोकप्रियता बढाउने रणनीतिका रूपमा पनि हेरिरहेका छन् । यद्यपि यसले एउटा कुरा स्पष्ट गरेको छ कि नेपाली समाज अब पुरानो शैलीको अपारदर्शी राजनीति स्वीकार गर्न तयार छैन ।

सामाजिक सञ्जालको विस्तारले पनि जनचेतना र जनदबाब दुवै बढाएको छ । अहिले कुनै पनि सरकारी कमजोरी केही मिनेटमै सार्वजनिक बहसको विषय बन्छ । नागरिकले प्रत्यक्ष उत्तरदायित्व खोज्न थालेका छन् । यो लोकतान्त्रिक चेतनाको सकारात्मक संकेत हो तर कहिलेकाहीँ सामाजिक सञ्जालमा अतिरञ्जना, भीड मानसिकता र अपुष्ट सूचनाले समाजलाई विभाजित समेत बनाइरहेको छ ।

वैदेशिक रोजगार र परिवारको बदलिँदो स्वरूप
नेपालको सामाजिक यथार्थ बुझ्न वैदेशिक रोजगारलाई छुट्टाएर हेर्न सकिँदैन । आज लाखौँ नेपाली युवाहरू रोजगारीका लागि खाडी मुलुक, मलेसिया, कोरिया, जापान तथा युरोपसम्म पुगेका छन् । रेमिटेन्सले देशको अर्थतन्त्र धानेको छ, धेरै परिवारको आर्थिक अवस्था सुधारिएको छ । गाउँमा पक्की घर बनेका छन्, बालबालिकाले निजी विद्यालयमा पढ्ने अवसर पाएका छन्, उपभोग क्षमता बढेको छ ।

तर यसको अर्को पाटो निकै संवेदनशील छ । आर्थिक सुधारसँगै सामाजिक दूरी झन् झन् बढ्दै गएको छ । बाबु विदेशमा, आमा गाउँमा र बच्चा हजुरआमासँग हुर्किने अवस्था धेरै परिवारमा देखिन्छ । परिवारसँगको भावनात्मक सम्बन्ध कमजोर बन्दै गइरहेको छ ।

उदाहरणका लागि धेरै बालबालिकाले आफ्ना बाबुलाई वर्षौँसम्म प्रत्यक्ष देख्न पाएका छैनन् । भिडियो कलमार्फत मात्र सम्बन्ध कायम हुन्छ । कतिपय अवस्थामा वैदेशिक रोजगारका कारण दाम्पत्य सम्बन्धमा तनाव, मानसिक दूरी तथा पारिवारिक विखण्डनसमेत देखिन्छ । आर्थिक आय बढे पनि सामाजिक र भावनात्मक क्षति सँगै बढिरहेको छ ।

गाउँका युवाहरू बिदेसिएपछि खेतीयोग्य जमिन बाँझो बनेको छ जसका कारण उत्पादन घट्ने तथा गाउँमा वृद्ध र बालबालिका मात्रै रहने अवस्था बढ्दो छ । यसले ग्रामीण सामाजिक संरचनालाई कमजोर बनाइदिएको छ ।

सहरीकरण र बदलिँदो जीवनशैली
नेपालमा पछिल्ला वर्षहरूमा तीव्र सहरीकरण भइरहेको छ । गाउँबाट सहरतर्फ बसाइसराइ बढेको छ । काठमाडौं, पोखरा, भरतपुर, बुटवलजस्ता सहरहरू तीव्र रूपमा विस्तार भइरहेका छन् । अवसर, शिक्षा, स्वास्थ्य र रोजगारीको खोजीमा मानिसहरू शहर केन्द्रित बन्दै गएका छन् ।

तर अव्यवस्थित सहरीकरणले नयाँ समस्या पनि सिर्जना गरेको छ । ट्राफिक जाम, प्रदूषण, महँगी, साँघुरा बस्ती तथा मानसिक तनाव शहर जीवनका सामान्य समस्या बन्दै गएका छन् । सहरमा मानिसको भीड बढे पनि सामाजिक आत्मीयता घट्दै गएको अनुभूति हुन्छ ।

पहिले गाउँघरमा दुःख-सुखमा छिमेकी सँगै उभिन्थे । विवाह, चाडपर्व र सामाजिक कार्य सामूहिक रूपमा सम्पन्न हुन्थे । अहिले सहरमा छिमेकीको नामसमेत नचिन्ने अवस्था बढ्दै गएको छ । डिजिटल सम्बन्ध बढे पनि प्रत्यक्ष मानवीय सम्बन्ध कमजोर बन्दै गएको छ ।

प्रविधि र सामाजिक सञ्जालको प्रभाव
मोबाइल फोन र इन्टरनेटले नेपाली समाजमा ठुलो परिवर्तन ल्याएको छ । सूचना प्रवाह तीव्र भएको छ, शिक्षा र व्यवसायका नयाँ अवसर खुलेका छन् । सामाजिक सञ्जालले व्यक्तिलाई आफ्नो विचार व्यक्त गर्ने स्वतन्त्रता दिएको छ ।
तर यसको नकारात्मक असर पनि गहिरो छ । विशेष गरी युवापुस्तामा सामाजिक तुलना, मानसिक दबाब तथा विलासी जीवनशैली बढ्दै गएको छ । मानिसहरू वास्तविक जीवनभन्दा सामाजिक सञ्जालमा ‘सुखी’ देखिन बढी प्रयास गर्न थालेका छन् ।

उदाहरणका रूपमा सामाजिक सञ्जालमा अरूको सफलता, वैभव वा विदेशको जीवनशैली देखेर धेरै युवामा आत्माहीनता र असन्तोष बढेको छ । कतिपय अवस्थामा यसले डिप्रेसन, एक्लोपना तथा आत्मविश्वासमा कमीसमेत ल्याएको छ । परिवारभित्रै पनि मोबाइल प्रयोगका कारण संवाद कम हुँदै गएको छ ।

शिक्षा प्रणाली र युवाको अन्यौलता
नेपालमा शिक्षाको पहुँच विस्तार भएको छ । गाउँ-गाउँमा विद्यालय खुलेका छन्, उच्च शिक्षामा विद्यार्थी सङ्ख्या बढेको छ । तर शिक्षा र रोजगारीबिचको सम्बन्ध कमजोर बन्दै गएको छ । धेरै विद्यार्थीले स्नातक वा स्नातकोत्तर तह पार गरिसक्दा पनि रोजगारी पाउन सकेका छैनन् । जसले युवापुस्तामा निराशा मात्रै बढाएको छ । शिक्षा सैद्धान्तिकमा बढी तर व्यवहारमा कम उपयोगी हुँदा बेरोजगारीको समस्या दिनानुदिन बढ्दो छ ।

अनु रेग्मी, लेखिका ।

यसै कारणले गर्दा हजारौँ विद्यार्थी प्रत्येक वर्ष विदेश अध्ययनका लागि जाने गरेका छन् । धेरैले पढाइसँगै स्थायी बसोबासको लक्ष्य राख्ने गर्छन् । देशभित्र अवसरको अभावले ‘नेपालमा भविष्य छैन’ भाष्य युवा पुस्तामा बलियो बन्दै गएको छ । यो दीर्घकालीन रूपमा देशको मानव संसाधन विकासका लागि चुनौतीपूर्ण विषय हो ।

स्वास्थ्य र मानसिक अवस्थाको चुनौती
सङ्क्रमणकालीन समाजमा मानसिक स्वास्थ्य ठुलो चुनौतीको रूपमा देखिन थालेको छ । आर्थिक दबाब, बेरोजगारी, सामाजिक तुलना, पारिवारिक तनाव तथा भविष्यप्रतिको अनिश्चितताले मानिसहरू मानसिक रूपमा थकित बन्दै गएका छन् ।
पहिले मानसिक स्वास्थ्यबारे खुलेर कुरा गरिँदैनथ्यो । अहिले चेतना बढ्दै गएको भए पनि पर्याप्त सेवा र सामाजिक स्वीकार्यता अझै सीमित छन् । धेरै मानिस तनाव, चिन्ता वा डिप्रेसनको समस्याबाट गुज्रिए पनि उपचार लिन हिचकिचाउँछन् ।

कोभिड-१९ महामारीपछि मानसिक स्वास्थ्यसम्बन्धी समस्या झन् बढेको छ । रोजगार गुमाउने, आर्थिक संकट तथा असुरक्षाको भावनाले धेरै मानिस प्रभावित बनेका छन् । यसले नेपालको स्वास्थ्य प्रणालीमा मानसिक स्वास्थ्यलाई प्राथमिकतामा राख्नलाई नीतिगत व्यवस्था नै गर्नुपर्ने बेलासमेत आइसकेको छ ।

वास्तविक विकास केवल राजनीतिक परिवर्तनले होइन, नागरिकको जीवनमा अनुभूत हुने समानता, सुरक्षा, सम्मान र अवसरले मात्रै मापन गर्नेछ ………..

यस अर्थमा सङ्क्रमणकालीन नेपालको सामाजिक यथार्थ आपसी द्वन्द्वमा रुमल्लिएको छ । एकातिर लोकतन्त्र, शिक्षा, प्रविधि र चेतनाको विकास र विस्तार त भएको छ तर अर्कोतिर बेरोजगारी, सामाजिक असमानता, मानसिक तनाव तथा अस्थिरता बढिरहेको छ । समाज पुरानो मूल्यबाट नयाँ संरचनातर्फ अघि त बढेको छ, तर त्यो यात्रा अझै अपूर्ण छ, टाढा छ र कठिन पनि ।
तर चुनौतीहरूकै बिचमा पनि सम्भावनाहरू समेत प्रशस्तै छन् । यदि राज्यले सुशासन, गुणस्तरीय शिक्षा, स्वास्थ्य सेवा, उत्पादनमुखी अर्थतन्त्र तथा युवालाई अवसर दिने नीति प्रभावकारी रूपमा कार्यान्वयन गर्न सकेमा वर्तमान सङ्क्रमण भविष्यको समृद्धिको आधार बन्न सक्छ ।

किनभने नेपालको वास्तविक विकास केवल राजनीतिक परिवर्तनले होइन, नागरिकको जीवनमा अनुभूत हुने समानता, सुरक्षा, सम्मान र अवसरले मात्रै मापन गर्नेछ ।

अनि यो अनुभूति गराउन सक्ने ल्याकत ल्याएर अर्थात् दुई तिहाइ बहुमत ल्याएर बनेको रास्वपा सरकारले आम जनताका चासो र गुनासोका विषय सम्बोधन गर्दै रोजगारी र आर्थिक उन्नतिमा काम गर्न सकेमा पुराना दल र चेतनाको अन्त्य भई नयाँ शक्तिको विकास हुनेछ । नत्र माथि नै भनिएझैँ जुन गतिमा उकालो लागेको थियो, त्यो भन्दै धरै तीव्र गतिमा ओरालो लागेर बरु पुराना नै ठिक भन्ने अवस्थामा नपुग्ला भन्न सकिँदैन । त्यस कारण यो आशा जगाउने र जोगाउने बेला हो ।

(रेग्मी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपप्राध्यापक पदमा कार्यरत हुनुहुन्छ ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?