काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेम कुमार राईको राजीनामा गराउन क्यानका निलम्बित महानिर्देशक प्रदीप अधिकारीले १० करोड रुपैयाँको डिल गरेको खुलेको छ । आफू विरुद्धको भ्रष्टाचार मुद्दा प्रभावित पार्नका लागि अधिकारीले अतिवादी समूहलाई १० करोड रुपैयाँ दिने प्रस्ताव गरी २ करोड रुपैयाँ हुण्डी मार्फत् फिलिपिन्समा पठाएको समेत खुलेको छ ।
मंगलबार काठमाडौं जिल्ला अदालतमा प्रकाश पाठक लगायतका विरुद्ध प्रहरी प्रतिवेदनका आधारमा दर्ता गरिएको आपराधिक षडयन्त्र, आपराधिक लाभ, हुन्डी, विद्युतीय कारोबार र संगठित अपराधको कसुरसम्बन्धी मुद्दामा अख्तियार प्रमुख राईको राजीनामा माग्न र उनलाई धम्काउन को कसले के के गरे भन्ने खुलाइएको छ । उक्त प्रकरणमा जेन्जी अभियन्ता भनिएका अर्जुन शाही लगायतका व्यक्तिहरूको भूमिका रहेको खुलेको छ ।
अभियोग पत्र अनुसार पोखरा विमानस्थल र नलिनचोक हेलिप्याड निर्माण प्रकरणमा अख्तियारद्वारा मुद्दा दायर गरिएको क्यानका निलम्बित महानिर्देशक प्रदीप अधिकारीले आफू विरुद्ध मुद्दा दायर हुन नदिन के के गरे र त्यसका लागि कति रकम खर्च गरे भन्ने कुरा खुलाइएको छ । अधिकारीले आफूलाई धम्की दिएर एक करोड रुपैयाँ माग गर्ने समूहलाई नै परिचालन गरेर अख्तियार प्रमुख राईको राजीनामा नदिए ज्यान लिने धम्की दिएकोसमेत खुलेको छ ।

अधिकारीले नेपालमा ठगी मुद्दामा फरार रहेका काभ्रेपलान्चोकका प्रकाश पाठकमार्फत अख्तियार प्रमुख प्रेमकुमार राईको राजीनामा माग्न लगाई उनले राजीनामा दिएमा १० करोड रुपैयाँ दिने प्रस्ताव गरेको समेत खुलेको छ । १० करोडमा भएको डिलमा पहिलो चरणमा २ करोड रुपैयाँ दिइसकिएको समेत पाइएको छ ।
अधिकारीले चिनिया ठेकेदार कम्पनी चाइना सिएमसीका प्रतिनिधिमार्फत फिलिपिन्समा रहेका प्रकाश पाठकलाई २ करोड नेपाली रुपैयाँ पठाएको समेत खुलेको छ । यी सबै कुरा प्रकाश पाठकको मोबाइलको फोन जफत, प्रदीप अधिकारीसँग गरिएको कुराकानीको अंश र उनको बयानमै आधारित रहेको छ ।
प्रहरी प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकील कार्यालय काठमाडौंले दायर गरेको १३९ पृष्ठ लामो अभियोग पत्र अनुसार प्रकाश पाठकले एक्स्ट्रिमिस्ट ग्रुप अफ नेपाल नामक अतिवादी संगठनको नाम लिई अख्तियार प्रमुखलाई ज्यान मार्ने धम्की दिएको र त्यसबापत प्रदीप अधिकारीबाट फिलिपिन्समा हुन्डीमार्फत रकम बुझेको पुष्टि भएको छ । सो कुराको पुष्टि प्रकाश पाठकले भिडियो बयानमै उल्लेख गरेका छन् ।
प्रदीप अधिकारी र प्रकाश पाठकबिचको चिनजान कसरी भयो ?
प्रकाश पाठकले आफ्नो बयानमा बताए अनुसार नेपाल नागरिक उड्डयन प्राधिकरणका निलम्बित महानिर्देशक प्रदीप अधिकारीसँग नेपालमा राष्ट्रिय युवा संघको भातृ संगठनमा रहेर काम गर्दा चिनजान भएको बताएका छन् । त्यति बेला प्रदीप अधिकारी र प्रकाश पाठक दुवै जना एमालेको भातृ संगठन युवा संघको माधव नेपालको प्यानलमा रहेको जनाएका छन् । आफू युवा संघमा रहेर काम गर्दा देखाएको उग्र क्रियाकलापका कारण प्रदीप अधिकारी आफूबाट प्रभावित भएको समेत पाठकको बयानमा उल्लेख छ ।

प्रकाश पाठकले सुरुमा नेपालमै भिजिट भिसामा मानिसहरूलाई विदेश पठाउने काम गरेको र त्यसबापत १५ लाखसम्म लिने गरेको खुलेको छ । पहिलो लटमा मानिसहरू पठाएर करिब २ करोड कमाएका पाठकले दोस्रो लटमा मानिसहरूलाई विदेश पठाउन खोज्दा कसैको पनि भिसा नलागेपछि रकम फिर्ता गर्न नसकेर ठगीको कसुरमा जेलमा पुगेका थिए । त्यसपछि नेपालबाट भागेर भारत लगायतका देशमा लुक्न थालेको उनैको बयानमा उल्लेख छ ।
पछिल्लो समय उनी भारतबाट समेत भागेर फिलिपिन्समा लुकेर बस्न थालेका थिए । त्यसै क्रममा प्रदीप अधिकारीमाथि मुद्दा दायर गर्ने अन्तिम चरणमा पुगेको बेला पहिले पाठकले नै प्रदीप अधिकारीलाई धम्काएर १ करोड रुपैयाँ फिरौती मागेको पाइएको छ ।
प्रकाशले आफ्नो बयानमा बताए अनुसार सुरुमा प्रकाशले प्रदीपसँगै नै फिरौती रकम माग गरेका थिए । उनले भनेका छन्, ‘मैले एक्स्ट्रिमिस्ट ग्रुप अफ नेपाल संगठन खोलेपछि सुरुमा तत्कालीन क्यानका महाप्रबन्धक प्रदीप अधिकारीलाई निजको ह्वाट्सएप नम्बरमा कल गरी एक करोड रुपैयाँ आर्थिक सहयोग माग्दै पत्र पठाएको थिएँ ।’

तर प्रदीप अधिकारीले पाठकको धम्कीलाई नै अवसरका रूपमा प्रयोग गरेको पाइएको छ । अधिकारीले ‘तपाईँले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेम राईलाई पत्र लेखी धम्की दिनुहोस् र राजीनामा दिन बाध्य पार्नुहोस् । सो बापत म संगठनको लागि ८ देखि १० करोड रुपैयाँ दिन्छु’ भनी प्रस्ताव गरेपछि आफूले उक्त प्रस्ताव स्वीकार गरेको पाठकको बयानमा उल्लेख छ । त्यसपछि नै पाठकले राईलाई भ्रष्ट व्यक्ति भन्दै ‘राजीनामा नदिए ज्यान मार्ने’ धम्कीपूर्ण पत्र पटक-पटक पठाएका थिए ।
पाठकले बुझे अधिकारीसँग २ करोड एडभान्स ?
अख्तियारका प्रमुख आयुक्त प्रेमकुमार राईलाई राजीनामा नदिने ज्यान मार्ने धम्की दिएबापत क्यानका महानिर्देशक अधिकारीले प्रकाश पाठकलाई २ करोड रुपैयाँ पठाएको खुलेको छ । उनले चिनियाँ ठेकेदारमार्फत फिलिपिन्समा रहेका प्रकाश पाठकलाई २ करोड रुपैयाँ दिएका थिए ।
प्रकाश पाठकले बयानमा खुलाए अनुसार प्रदीप अधिकारीसँग भएको कुराकानी अनुसार *१२३# लेखिएको कोड देखाएपछि चिनियाँ नागरिकहरूले २ पटकमा गरेर कुल फिलिपिनी रकम ८० लाख पेसो अर्थात् करिब २ करोड नेपाली रुपैयाँ बुझेको र त्यसपछि अख्तियार प्रमुख राईलाई ज्यान मार्ने धम्की दिएको खुलेको छ ।
पाठकको बयानमा प्रदीप अधिकारीले नै दिएको जानकारी अनुसार उक्त रकम पोखरा क्षेत्रीय विमानस्थल निर्माण गर्ने चिनियाँ कम्पनी चाइना सिएमसी इन्जिनियरिङ कम्पनी लिमिटेडसँगको सम्बन्धबाट उपलब्ध गराएको भनेका छन् ।
२ करोड पाएपछि फिलिपिन्समै फ्ल्याट किन्न बैना !
प्रकाश पाठकले प्रदीप अधिकारीबाट पाएको २ करोड नेपाली रुपैयाँले फिलिपिन्समै फ्ल्याट खरिद गर्नका लागि रकम बुझाएको समेत खुलेको छ । पाठकको बयान अनुसार मनिला सेन्ट्रल अपार्टमेन्टमा ७० लाख ६५ हजार पेसो अर्थात् १ करोड ७५ लाख नेपाली रुपैयाँमा अपार्टमेन्ट खरिदका लागि रकम बुझाएको र अन्य रकम आफ्नो व्यक्तिगत खर्च भएको छ ।
किन र कसरी पुगे फिलिपिन्स ?
प्रकाश पाठकले प्रहरीसमक्ष दिएको बयान अनुसार नेपालमा उनी विरुद्ध ठगीको कसुरमा मुद्दा दर्ता भएपछि भागेर भारत पुगेका थिए । त्यहाँ पनि उनको खोजतलास सुरु भएपछि भारतमै बसेर न्यूजिल्याण्डमा भिजिट भिसामा पठाउने काम सुरु गरेका थिए । तर त्यहाँ पनि भनेको जस्तो नभएको र सुरक्षित नभएपछि त्यहाँबाट पनि भागेर फिलिपिन्स, मलेसिया, सिंगापुर, जापान हुँदै फेरि फिलिपिन्स पुगेर त्यतै बस्न थालेका थिए ।
भारतमै रहँदा पाठकले नक्कली भारतीय आधार कार्ड, प्यान कार्ड, राशन कार्ड बनाएर भारतीय बैंकमै खाता समेत खोलेको पाइएको छ । भारतमै रहँदा प्रदीप अधिकारीसँग ह्वाट्सएपमा कुराकानी हुने गरेको उनको बयानमा उल्लेख छ ।
कसरी पक्राउ परे पाठक ?
नेपालकै उच्चपदस्थ व्यक्तिहरूमाथि ज्यान मार्नेसम्मको धम्की आएपछि प्रहरीले पाठकको व्यापक खोजी गरेको थियो । पाठकको सम्बन्धमा प्राविधिक विश्लेषण गर्दा उनी उनी फिलिपिन्समा रहेको खुलेपछि इन्टरपोलको सहयोगमा उनलाई फिलिपिन्समै पक्राउ गरी नेपाल ल्याइएको थियो ।

अभियोग पत्रमा उल्लेख भए अनुसार पाठकले २०८२ मंसिर १३ गते अख्तियार प्रमुख प्रेमकुमार राईलाई मार्नेसम्मको धम्की दिई एक्स्ट्रिमिस्ट ग्रुप अफ नेपाल को नामबाट इमेल गरिएको थियो । उक्त इमेलको डिटेल २०८२ मंसिर १५ गते प्रहरी महानिरीक्षकको सचिवालयबाट इन्टरपोल शाखामा पठाई अनुसन्धान सुरु गरिएको थियो ।
त्यसपछि इन्टरपोल शाखाले पाठकविरुद्ध मंसिर १६ गते नै डिफ्युजन नोटिस जारीका लागि पत्र लेखिएको थियो ।
फिलिपिन्सको इन्टरपोल शाखा अर्थात् एनसीबी मलिनामार्फत प्रहरीले खोजी गर्दा पाठक बुलाकान प्रान्तको मालोलोस बारांगेमा रहेको खुलेको थियो । त्यसपछि फिलिपिन्स प्रहरीले पाठकलाई पक्राउ गरेको थियो । त्यसपछि नेपालको इन्टरपोलसँग समन्वय गरेर पाठकलाई नेपाल पठाइएको थियो ।
फिरौती उठाउन अतिवादी संगठन निर्माण
पाठकले आफ्नो बयानमा खुलाए अनुसार विभिन्न व्यापारी, नेता, कर्मचारी आदिबाट फिरौतीका रूपमा रकम उठाउन अतिवादी संगठन खोलेको बयान दिएका छन् । यद्यपि उक्त अतिवादी संगठन कहीँ कतै दर्ता भएको नभई नाम मात्रैको संगठन हो र त्यहाँ प्रकाश पाठक मात्रै रहेका छन् ।
पाठकको बयानमा भनिएको छ, ‘नेपालका विवादित नेता, व्यापारी र भ्रष्टाचारी कर्मचारीहरूबाट गैर कानुनी रूपमा फिरौती रकम मागी आर्थिक लाभ लिने उद्देश्यले सन् २०२५ अक्टोबर १मा विश्व क्रान्ति दिवसको दिन एक्स्ट्रिमिस्ट ग्रुप अफ नेपाल अर्थात् ईजीएन खोलेको हुँ ।’
प्रकाश पाठकको ज्यान मार्ने धम्की र फिरौती उठाउने काइदामा प्रदीप अधिकारी अझै बढी मास्टरमाइन्ड भएको खुलेको छ । प्रकाशको बयानमा प्रदीपबारे भनिएको छ, ‘यसको सम्पूर्ण डिजाइनर, योजनाकार र षड्यन्त्र गर्ने मुख्य व्यक्ति प्रदीप अधिकारी हुन् । उनले ८ देखि १० करोड रुपैयाँ दिने प्रस्ताव गरेका थिए ।’
ल्यापटप, मोबाइल र सिमकार्ड समुद्रमा फालियो
प्रकाश पाठकले आफूले पहिले प्रयोग गरिरहेको मोबाइल, ल्यापटप र सिमकार्ड समुद्रमा फालेको बयान दिएका छन् । आफू विरुद्ध लाग्ने प्रमाण नष्ट होस् भन्ने उद्देश्यले आफूले ती सबै प्रमाणहरू समुद्रमा फालेको उनको बयानमा उल्लेख छ ।
कान्तिपुर डेण्टलका सञ्चालकलाई समेत धम्की दिएर ५ लाख फिरौती असुल
पाठकले पहिले आफू पढेको कान्तिपुर डेन्टल कलेजका सञ्चालकलाई धम्की दिएर उनीसँग ५ लाख रुपैयाँ फिरौती लिएको समेत पाइएको छ । आफू पढ्दा कलेजलाई ५ लाख बुझाएको तर पछि आफूले नपढेको कारण उक्त रकम फिर्ता नगरे ज्यान मार्नेसम्मको धम्की पाठकले दिएका थिए । पाठकले बयानमा भनेका छन्, ‘कान्तिपुर डेन्टल कलेजका सञ्चालकलाई पढ्दा बुझाएको ५ लाख फिर्ता गर्नुपर्छ भनेर म्यासेज पठाएको हुँ ।’
पाठकले धम्की दिँदा आफू क्रिमिनल बनिसकेको भन्दै रकम फिर्ता नगरे जे पनि हुने धन्दै धम्की दिएका थिए । त्यसपछि कान्तिपुर डेन्टल कलेजका सञ्चालक बुद्धिमान श्रेष्ठले एक फेन्सी स्टोरको क्यु आर कोडमा ५ लाख रुपैयाँ पठाएका थिए ।
मंगलबार काठमाडौं जिल्ला अदालतमा प्रकाश पाठक, प्रदीप अधिकारी लगायतका विरुद्ध मुद्दा भएसँगै उनको बयान सुरु भएको छ । बुधबार न्यायाधीश सुदर्शन लामिछानेको इजलासमा हेर्दाहेर्दैमा रहेको उक्त मुद्दाको थुनछेक बहस जारी छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया