आर.जी. कर मेडिकल कलेजसँग जोडिएको त्यो दर्दनाक घटना, रत्न देवनाथका लागि जीवनकै सबैभन्दा ठूलो चोट बन्यो । उनकी छोरी जो डाक्टर बन्ने सपना बोकेकी थिइन्, एक निर्मम अपराधको शिकार बनिन् । त्यो दिनले केवल एउटा परिवार मात्र होइन, एउटा आमाको संसार नै भत्काइदियो । छोरीको आवाज सधैंका लागि मौन भयो तर आमाको आवाज भने त्यसपछि झन् बलियो बन्दै गयो ।
अहिले चौतर्फी चर्चा भइरहेको छ पश्चिम बंगालमा २०२६ को विधानसभा चुनावबाट २८ हजारभन्दा बढी मतान्तरले जितेकी एक आमाको अर्थात रत्न देवनाथको । उनी भारतीय जनता पार्टी (भाजपा)को टिकटमा पानीहाटी विधानसभा सिटबाट ऐतिहासिक जित दर्ता गर्न सफल भएकी हुन् । उनको यो जित त्यति सहज भने पक्कै थिएन ।
रत्न देवनाथकी एक मात्र छोरी, जो आवासीय चिकित्सक थिइन् । ३१ वर्षीया उनलाई सन् २०२४ अगस्त ९ मा कोलकाताको आर.जी. कर मेडिकल कलेज एण्ड हस्पिटल(अस्पताल)मा काम गर्दै गर्दा बलात्कारपछि हत्या गरिएको थियो । यो घटनाले पूरै पश्चिम बंगाल र भारतलाई नै स्तब्ध बनाएको थियो । उनको बलात्कारपछि हत्यालाई लिएर न्यायको माग गर्दै देशव्यापी विरोध प्रदर्शन भए, जसमा महिलाहरूले मध्यरातमा सडकमा ओर्लिएर ‘रिक्लेम द नाइट’ अभियान चलाएका थिए ।
त्यसो त आफ्नो छोरीको न्यायका लागि गरिएको अनुसन्धान र राज्य सरकारको कार्यशैलीप्रति रत्न देवनाथ र उनको परिवार सन्तुष्ट थिएन । उनले आफ्नी छोरीलाई न्याय दिलाउन र बंगालका अन्य छोरीहरूको सुरक्षाका लागि राजनीतिमा आउने निर्णय गरिन् । उनले एउटा भावुक प्रतिज्ञा पनि गरेकी थिइन् कि जबसम्म आफ्नी छोरीले न्याय पाउँदिनन् र वर्तमान सरकार सत्ताच्युत हुँदैन, तबसम्म आफ्नो कपाल कोर्ने छैन ।
भारतीय जनता पार्टी (भाजपा)ले उनलाई उत्तर २४ परगना जिल्लाको पानिहाटी निर्वाचन क्षेत्रबाट उम्मेदवार बनाएको थियो । चुनाव प्रचारका क्रममा उनी जहाँ पुग्थिन् त्यहाँका मानिसहरू आँखाभरि आँसु लिएर उनलाई स्वागत गर्थे । रत्न देवनाथको यो यात्रा एउटी शोकमा डुबेकी आमा कसरी ‘न्यायको योद्धा’ बनेर संसद्सम्म पुग्छिन् भन्ने एउटा ज्वलन्त उदाहरण पनि हो ।
शुरुवातमा उनी केवल न्याय खोजिरहेकी एक शोकाकुल आमा थिइन् । अदालतका ढोका धाइन्, प्रदर्शनमा उभिइन्, सडकमा नारा लगाइन् । धेरैले साथ दिए, धेरैले आलोचना पनि गरे । तर उनले कहिल्यै हार मानिनन् । ‘मेरी छोरीका लागि न्याय चाहिन्छ’ यो एउटा वाक्य मात्र थिएन यो उनको जीवनको उद्देश्य बनिसकेको थियो ।
समयसँगै उनको पीडा जनताको पीडासँग जोडिन थाल्यो । धेरै महिला, अभिभावक र युवाहरुले उनको संघर्षमा आफ्नै आवाज देख्न थाले । उनी एक व्यक्तिबाट प्रतिकमा परिणत भइन् । अन्यायविरुद्ध लड्ने साहसको प्रतीक । यही यात्राले उनलाई राजनीतितर्फ डोर्यायो । धेरैले सोधे के यो सही बाटो हो ? तर उनको जवाफ स्पष्ट थियो, यदि प्रणालीले न्याय दिन सक्दैन भने प्रणालीभित्रै गएर परिवर्तन गर्नुपर्छ ।’ त्यसपछि उनले पानीहाटीबाट विधानसभा चुनाव लड्ने निर्णय गरिन् ।
चुनावी मैदान सजिलो थिएन । विपक्षीहरू थिए, आलोचना थियो र सामाजिक सञ्जालमा फैलिएका भ्रामक कथाहरू पनि । कसैले उनको संघर्षलाई नाटक भने, कसैले षड्यन्त्र । तर उनी शान्त रहिन् । उनले आफ्नो पीडा बेचिनन्, उनले त्यसलाई शक्तिमा रूपान्तरण गरिन् ।
उनको अभियान कुनै ठूला वाचा वा राजनीतिक चालमा आधारित थिएन । त्यो आधारित थियो एउटा आमाको साँचो कथा, न्यायप्रतिको अडान र सुरक्षित समाज बनाउने प्रतिबद्धता । जब उनी जनतासामु उभिइन्, उनले भाषण मात्र दिइनन् उनले आफ्नो हृदय खोलेर देखाइन् ।
अन्ततः परिणाम उनको जितको
यो केवल एउटा चुनावी जित थिएन । यो एउटा आमाको आँसुको मूल्य थियो, एउटा छोरीको अधूरो सपनाको सम्मान थियो र हजारौं मानिसको भरोसाको विजय थियो । जनताले केवल एक उम्मेदवारलाई जिताएनन् उनीहरूले न्यायको आवाजलाई सशक्त बनाए । आज उनी केवल ‘पीडितकी आमा’ होइनन् । उनी एक जनप्रतिनिधि हुन्, एक प्रेरणा हुन् र परिवर्तनको आशा हुन् । उनकी छोरी अब यो संसारमा छैनन्, तर उनको सपना न्याय र सम्मानसहितको समाज अब आमाको माध्यमबाट अघि बढ्ने उनको मतदाताहरुको छ । उनको यस संघर्ष र विजयको यात्राले हामीलाई एउटा ठूलो प्रेरणा पनि दिन्छ कि कहिलेकाहीँ सबैभन्दा ठूलो अँध्यारोबाटै सबैभन्दा बलियो प्रकाश जन्मिन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया