बजेटले निजी लगानी र उत्पादकत्व वृद्धिमा जोड दिनुपर्छ : अर्थसचिव डा. उपाध्याय

लोकपथ
0
Shares

काठमाडौं । अर्थ मन्त्रालयका सचिव डा. घनश्याम उपाध्यायले आगामी आर्थिक वर्षको बजेट निजी क्षेत्रको लगानी आकर्षित गर्ने, उत्पादकत्व बढाउने र रोजगारी सिर्जना गर्ने दिशामा केन्द्रित हुनुपर्ने  बताएका छन् । 

बजेट तर्जुमाका सन्दर्भमा आयोजित एक छलफल कार्यक्रममा बोल्दै सचिव उपाध्यायले मुलुकमा राजनीतिक स्थिरतासँगै नयाँ आशा सञ्चार भएको अवस्थामा अर्थ मन्त्रालयले सोही अनुरूपको नीतिगत तयारी गरिरहेको जानकारी दिएका हुन् । 

सचिव उपाध्यायले सरकारी लगानीले निजी क्षेत्रको लगानीलाई प्रोत्साहित गर्नुपर्ने बताए ।  विगतमा जलविद्युत क्षेत्रमा सरकारले प्रसारण लाइन बनाइदिने र सिमेन्ट उद्योगसम्म पहुँच मार्ग पुर्‍याइदिने नीतिले ती क्षेत्रको विकासमा ठुलो टेवा पुर्‍याएको उदाहरण दिँदै उनले यस्ता सफल नीतिहरूलाई अन्य क्षेत्रमा पनि विस्तार गरिने  बताए । 

अर्थतन्त्रको आगामी कार्यदिशाका लागि सचिव उपाध्यायले ‘५–डी’ को अवधारणा प्रस्तुत गरे । उनकाअनुसार लोकतन्त्र र सुशासनको लाभमार्फत आर्थिक वृद्धि गर्ने, ६२ प्रतिशत सक्रिय युवा जनशक्तिलाई राष्ट्र निर्माणमा परिचालन गर्ने र निजी क्षेत्रका कानुनी तथा प्रक्रियागत बाधा हटाउन ‘डी–रेगुलेसन’ गर्नु अहिलेको आवश्यकता हो । त्यसैगरी, प्रविधिको प्रयोगमार्फत तीव्र आर्थिक विकास हासिल गर्न डिजिटल सम्पत्ति र ‘डिजिटाइजेसन’ मा लगानी बढाउनुपर्नेमा उनको जोड छ । 

उनले भने,‘ सरकारले गर्ने खर्चको अर्थ हुनुपर्छ । एक रुपैयाँ सरकारी खर्चले कति निजी लगानी आकर्षित गर्नसक्छ भन्नेमा हामी स्पष्ट हुनुपर्छ ।’

विदेशमा रहेका नेपालीहरूको सीप, पुँजी र ज्ञानलाई नेपालको सार्वजनिक पूर्वाधार र उत्पादनशील क्षेत्रमा जोड्नसके आर्थिक समृद्धि हासिल गर्न सहज हुने उनले उल्लेख गरे । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?