काठमाडौं । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले नेपालको वर्तमान आर्थिक अवस्था करिब एक दशकअघिको भारतसँग तुलना गर्दै अब देशले तीव्र आर्थिक छलाङ मार्ने समय आएको बताएका छन् ।
काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले नेपाल अहिले आर्थिक प्रस्थान बिन्दु मा रहेको उल्लेख गरे ।
उनका अनुसार सन् २०१४ मा भारतको प्रतिव्यक्ति आम्दानी करिब १,५०० डलर थियो, जुन स्तरमा हाल नेपाल पुगेको छ । यही अवस्थालाई आधार मानेर नेपालले अब उच्च आर्थिक वृद्धिको मार्ग समात्नुपर्ने उनले बताए ।
अर्थमन्त्री वाग्लेले वर्तमान सरकार पाँच वर्षको पूर्ण कार्यकालसम्म स्थिर रहने दाबी गर्दै यसले लगानीकर्ताहरूलाई नीतिगत स्थिरता र सुनिश्चितता प्रदान गर्ने विश्वास व्यक्त गरे । उनले निजी क्षेत्रमैत्री वातावरण निर्माण गर्न सरकार प्रतिबद्ध रहेको पनि स्पष्ट पारे ।
नेपाल भूपरिवेष्ठित मुलुक भएकाले भौगोलिक चुनौतीलाई पार गर्न डिजिटलाइजेसनलाई मुख्य साधनका रूपमा अघि सारिएको उनले बताए । सूचना प्रविधि क्षेत्रलाई प्राथमिकता दिन सूचना प्रविधि विभागलाई प्रधानमन्त्री कार्यालय मातहत ल्याइएको र यसबाट सेवा प्रवाहमा सुधार आउने अपेक्षा गरिएको छ ।
उनले तौलरहित र दूरीरहित अर्थतन्त्रको अवधारणालाई अब कार्यान्वयनमा ल्याउने समय आएको उल्लेख गर्दै विगतमा नीतिगत कब्जा र भ्रष्टाचारका कारण बिग्रिएको व्यावसायिक वातावरण सुधार गरिने बताए । कानून कार्यान्वयनमा कडाइ गरिने तर इमानदार व्यवसायीलाई पूर्ण संरक्षण दिइने उनको भनाइ थियो ।
आगामी बजेट निजी क्षेत्रलाई प्रोत्साहन गर्ने खालको हुने जनाउँदै उनले लगानीको सुरक्षा, सम्पत्तिको संरक्षण र करार कार्यान्वयनलाई उच्च प्राथमिकता दिइने बताए ।
अर्थमन्त्री वाग्लेले आगामी सात वर्षभित्र प्रतिव्यक्ति आम्दानी ३,००० डलर पुर्याउने र अर्थतन्त्रको आकार करिब १०० अर्ब डलर पुर्याउने लक्ष्य सरकारको रहेको जानकारी दिए । साथै, भारतले पछिल्ला वर्षहरूमा हासिल गरेको ९–१० प्रतिशत आर्थिक वृद्धिदरलाई नेपालले पनि पछ्याउन सक्ने विश्वास व्यक्त गरे ।
कार्यक्रममा प्रस्तुत धारणा प्रति सहमति जनाउँदै उनले नेपालको पर्यटन, जलविद्युत् र उच्च मूल्यका कृषि उत्पादनले अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न सक्ने बताए । रुग्ण कानूनहरू खारेज गर्ने र प्रशासनिक झन्झट हटाउने कार्य सरकारको पहिलो प्राथमिकता रहने उनले पुनः दोहोर्याए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया