अधिकारकर्मी रुबी खान : प्रहरी कार्यालयको सेटिङ भत्किएपछि प्रहरी प्रमुखमाथि नै कारबाहीको माग !

सार्वजनिक शान्तिमा खलल पुराएपछि परिन् पक्राउ

लोकपथ
77
Shares

काठमाडौं । रुबी खान । कुनै समयको चर्चित नाम । नेपालगन्जकी एक महिला निर्मला कुर्मीको मृत्यु वा हत्याको विषय केन्द्रसम्म ल्याएर आन्दोलन गर्ने एक मुस्लिम समुदायकी साहसी महिला । पीडितलाई न्याय र पीडकलाई कारबाहीको माग गर्दै नेपालगन्जदेखि खुट्टाले हिँडेर काठमाडौं आई आन्दोलन गर्ने तिनै महिला यति बेला बाँकेको नेपालगन्जबाट पक्राउ परेकी छिन् ।

बाँकेको नेपालगन्जमा एक घटनाको विषयलाई लिएर बढेको विवाद, आफ्ना मान्छेहरू समातिँदा प्रहरीलाई छाड्न वा मिलापत्र गर्न दिएको दबाबले काम नगरेपछि जिल्लाका प्रहरी प्रमुखकै कारबाहीको माग गर्दै आन्दोलनमा थिइन् । तर आन्दोलनकै बिचमा मंगलबार खानलाई बाँके प्रहरीले सार्वजनिक शान्ति विरुद्धको कसुरमा पक्राउ गरी हिरासतमा राखेको छ ।

एक स्थानीय शिक्षक नारायण प्रसाद शर्मामाथि २०८३ वैशाख ३ गते उनको घरमै आक्रमण भएको थियो । नेपालगन्ज उपमहानगरपालिका १० विन्देवासिनी टोलमा रहेको शिक्षककै घरमा पुगेर करिब २० जनाको समूहले आक्रमण गरी शर्माको हात भाँचिदिएका थिए भने शरीरका अन्य भागमा समेत चोटपटक लागेको थियो ।

घाइते शिक्षक नारायणप्रसाद शर्मा ।

आक्रमणबाट घाइते बनेका पीडित शिक्षक शर्माले टिपाएको घटना विवरण कागज अनुसार पीडकहरूको बाख्राले पटक पटक आफ्नो घर अगाडिको अन्नबाली खाएपछि शर्माले एक बाख्रालाई नियन्त्रणमा लिएका थिए । त्यसभन्दा अगाडि पनि पटक पटक बाख्राहरू आफ्नो बारीमा आएर अन्नबाली खाँदा शर्माले बाख्रा हेर्दा आफ्नो बारीमा आउन नदिन बालिकालाई पटक पटक भने पनि बालिकाले वास्ता नगरेपछि उक्त दिन बाख्रा नै नियन्त्रणमा लिएर अभिभावकसँग कुरा गर्न उनले चाहेको घटना विवरण कागजमा उल्लेख छ ।

त्यसपछि बाख्रा लिन आएकी एक बालिका आएपछि तिम्रा अभिभावकलाई बोलाऊ अनि मात्रै बाख्रा पठाउँछु भनी शर्माले बालिकालाई घरमा पठाइदिएका थिए ।

त्यसपछि बालिका त्यहाँबाट घरमा पुगेर उनका बुवा आमालाई घटनाबारे बताएपछि त्यसको केही समयमै करिब २० जनाको समूह शर्माको घरमा पुगेको थियो । उक्त समूहले शर्माको घरमै प्रवेश गरेर ढुङ्गा तथा इट्टा तथा घरेलु औजार प्रयोग गरेर शर्मा, उनकी श्रीमतीमाथि कुटपिट गरेका थिए । कुटपिट छुट्टाउन गएका अर्का एक छिमेकीमाथि पनि आक्रमण भएको थियो । आक्रमणपछि शर्माको हात भाँचिनुका साथै रगताम्मे अवस्थामै उनलाई उद्धार गरी पहिले प्रहरी कार्यालय लगी त्यहाँबाट नेपालगन्ज अस्पतालमा लगेर उपचार गरिएको थियो ।

प्रहरीले घटनामा संलग्न रहेका दुई जनालाई तत्कालै पक्राउ समेत गरेका थिए । आक्रमणबाट पीडित शिक्षक हिन्दु समुदायका थिए भने आक्रमण गर्नेहरू मुस्लिम समुदायका व्यक्तिहरू थिए ।

पटक पटक आफ्नो अन्नबाली बाख्राले खाएपछि आजित भएका शर्माले छलफलका लागि बाख्रा नियन्त्रणमा लिँदा छलफल गर्नुको साटो आक्रमण गरी गम्भीर घाइते बनाउने व्यक्तिहरू पक्राउ परेपछि प्रहरीले उनीहरुविरुद्ध जिल्ला प्रशासन कार्यालयबाट म्याद थपेर अनुसन्धान सुरु गरेको थियो ।

तर उक्त घटनामा मिलापत्र गराउनुपर्ने भन्दै महिला अधिकारकर्मी भनिएकी रुबी खानले बाँके प्रहरीलाई दबाब दिएकी थिइन् । बाँके प्रहरीले पनि स्थानीयबिच भएको झगडा भनेर मिलाउने प्रयास गरेको थियो । त्यसपछि ज्यान मार्ने उद्योगको उक्त घटनालाई अभद्र व्यवहारको कसुरमा मुद्दा दर्ता गरी अनुसन्धान भएको थियो ।

… अनि घटना दबाउन खानले काउन्टर जाहेरी पठाइन्
जब बाँके प्रहरीले हात नै भाँचिने र रगताम्य हुने गरी भएको आक्रमणको घटनामा अनुसन्धान सुरु ग¥यो र रुबीको दबाब इन्कार गरिदियो, त्यसपछि रुबी खान केही व्यक्तिहरूलाई उचालेर उल्टै पीडित शिक्षकमाथि नै जाहेरी लिएर प्रहरी कार्यालयमा पुगिन् । खान स्वयम् उपस्थित नभए पनि उनले पीडित शिक्षकमाथि बाख्रालाई नियन्त्रणमा राखिएको, बालिकालाई शौचालयमा थुनेर राखेको र बाख्रा धनी महिला अर्थात् बालिकाकी आमालाई कुटपिट गरेको भन्दै काउन्टर जाहेरी लिएर पठाइन् ।

तर प्रहरी अनुसन्धानमा काउन्टर जाहेरी आफ्टर थट अर्थात् सोचविचार गरी दर्ताका लागि ल्याएको पाएपछि प्रहरीले उक्त जाहेरीलाई नै बेवास्ता गरेको थियो । त्यसपछि आफ्नो दबदबा कमजोर भएको देखेपछि रुबी खानले स्थानीय करिब १० जना महिलाहरूलाई उचालेर सिडिओ कार्यालय अगाडि धर्नामा बस्ने र बाँकेका एसपी अंगुर जिसीमाथि कारबाहीको माग समेत गरेर धर्नामा राख्न थालिन् ।

बाँकेका एसपी अंगुर जिसीलाई कारबाहीको माग गर्दै सिडिओ कार्यालयअगाडि धर्नामा रुबी खानका समर्थकहरु ।

महिला अधिकार मञ्च बाँकेको नाममा खानले महिलाहरूलाई उचालेर पुराना घटनाहरूको विषय समेत उठाएर आफू अनुकूलका व्यक्तिहरूको पक्षमा निर्णय गराउन दबाब दिन थालेकी थिइन् ।

लोकपथलाई प्राप्त एक भिडियोमा खानले स्थानीय महिलाहरूलाई उक्साउँदै गरेको र एसपी अंगुर जिसीविरुद्ध कसरी आन्दोलन गर्ने भनेर सिकाइरहेको देख्न सकिन्छ । साथै बाँकेमा भएका घटनाहरूलाई भ्रामकरुपमा प्रस्तुत गरी विवादित बनाउने र आपराधिक घटनालाई धर्मसँग जोडेर हिन्दु र मुस्लिमको द्वन्द्व बढाउन उक्साएको प्रहरीको आरोप छ ।

यसअघि पनि दिएकी थिइन् नाजायज दबाब
बाँके प्रहरीका अनुसार खानले यसअघि भएको एक दुर्घटनामा समेत नाजायज दबाब दिएपछि प्रहरीले उनको दबाब अस्वीकार गरेको थियो । काठमाडौंमा निर्मला कुर्मीको मृत्यु सम्बन्धमा भएको आन्दोलन र त्यसपछि गृहमन्त्रीसँग भएको वार्तापछि अनुसन्धानका लागि भन्दै लगिएका प्रहरी कर्मचारीको प्रयोग गरी आफ्नो प्रभाव कायम राखेकी खानको नाजायज दबाबको सुनुवाइ नभएपछि उनले आन्दोलन गर्न थालेकी थिइन् । बाँके प्रहरी प्रमुखले खानको फाइदाका लागि काम गरिदिने केही प्रहरी कर्मचारीको आन्तरिक सरुवासमेत गरिदिएका थिए ।

त्यसपछि आफ्नो साम्राज्य गुमेको आभास पाएकी खानले दुर्घटनामा ज्यान गुमाएका स्थानीय बालक दीपक चमारको मुद्दा उठाएकी थिइन् ।

विद्यालयबाट भागेर घर जाने क्रममा एक गधा गाडाको चक्कामा परेर ६ वर्षीय बालक दीपक चमारको उपचारको क्रममा मृत्यु भएपछि खानले गाडा चालक, गाडाका पछाडि रहेका व्यक्ति, विद्यालयका प्रिन्सिपल, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष आदिविरुद्ध जाहेरी लिएर गएकी थिइन् ।

सुरुमा गाडा चालक र गाडाको पछाडि रहेका व्यक्तिलाई नियन्त्रणमा लिएको प्रहरीले पछि गाडाचालक विरुद्ध मात्रै मुद्दा चलाएर अन्यविरूद्ध मुद्दा नचलाउने निर्णय गरेका थिए । मुद्दा लगाएर आफ्ना दबदबा देखाउन खोजेकी खानमाथि प्रहरीले असहयोग गरेपछि उनी प्रहरीविरुद्ध नै आन्दोलनमा उत्रिएकी हुन् । त्यसपछि खानले एक प्रहरी हवलदारको सरुवाको विषय, असम्बन्धित व्यक्तिमाथि मुद्दा नचलाएको घटना, पीडकहरू आफूनिकटका व्यक्ति परेपछि मुद्दा मिलाउन दबाब र पीडितमाथि नै मुद्दा चलाउने प्रयास असफल भएपछि उनी प्रहरीविरुद्ध नै खनिएकी थिइन् । घटनालाई हिन्दु र मुस्लिम समुदायसँग समेत जोडेर प्रस्तुत हुन थालेपछि प्रहरीलाई खानसहितका केही महिलालाई नियन्त्रणमा लिएको हो ।

प्रहरी नियन्त्रणमा रहेका महिलाहरूले आफूहरूलाई केही थाहा नभएको तर रुबी खानले जे जे भन्यो त्यही मात्रै गरेको बयान दिएपछि प्रहरीले खानसमेतलाई पक्राउ गरेको हो ।

निर्मला कुर्मीको घटना देखाएर मिलाउँथिन् मुद्दा
बाँके प्रहरीका एक अधिकृतका अनुसार महिला अधिकारकर्मी भनिएकी रुबी खानले निर्मला कुर्मीको मुद्दा देखाएर प्रहरी कार्यालय, सिडिओ कार्यालय र अदालतसम्म दबाब दिएर आफू अनुकूलको निर्णय वा फैसला गराउन दबाब दिने गरेकी थिइन् ।

खानले पीडकहरू आफ्ना मान्छेहरू परेमा मिलापत्र गर्न वा मुद्दा नै नचलाउन दबाब दिने गरेकी थिइन् । पीडित व्यक्तिहरू आफ्ना व्यक्ति परेमा भने घटनामा संलग्न नै नभएका व्यक्तिहरूको नाममा समेत जाहेरी दिएर दुख दिने गरेकी थिइन् ।

अधिकारकर्मी रुबी खान ।

त्यसबाहेक निर्मला कुर्मीको मृत्युको अनुसन्धान गरिरहेका भनिएका र काठमाडौंमा भएको आन्दोलनपश्चात् तत्कालीन गृहमन्त्रीसँग वार्ता गरेर पुनः नेपालगन्ज लगिएका प्रहरी कर्मचारीकै प्रयोग गरेर अपराधका घटना मिलाउने र आर्थिक लाभसमेत लिने गरेको पाइएको बाँकेका एक प्रहरी अधिकारीले बताए ।

रुबी खानको स्वार्थका लागि गैर न्यायिक काम गर्ने एक प्रहरी हवलदारलाई सिभिल र मुद्दा शाखाबाट हटाएर प्रहरी कार्यालयकै गेटमै ड्युटीमा राखिएको, आन्दोलन गरेर फिर्ता ल्याएका प्रहरी कर्मचारीको जिम्मेवारी हेरफेर गरेर ‘मुद्दा मिलाउन’बाट रोकेपछि खानको साम्राज्य तोडिएको थियो ।

त्यसपछि उनले लामो समयपछि फेरि निर्मला कुर्मीको विषय उठाउँदै सिडिओ कार्यालय लगायतमा प्रहरी कर्मचारीविरुद्ध नै उजुरी दिन थालेकी थिइन् । प्रहरी कार्यालयबाट हुने गरेको आफ्नो सेटिङ भत्किएपछि खानले अहिले प्रहरी प्रमुखकै सरुवा, सेटिङका लागि राखिएका प्रहरी कर्मचारीको पूर्ववत् स्थानमै पदस्थापन लगायतका विषय उठाउन थालेकी थिइन् ।

केही नलागेपछि आपराधिक घटनामा पनि हिन्दु र मुस्लिमको विषय निकालेर सार्वजनिक शान्तिमा खलल पुराएपछि प्रहरीले खानमाथि नै मुद्दा दायर गर्न लागेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?