सशस्त्र प्रहरी महानिरीक्षक कप–२०८२’ को रनिङ ट्रफि प्रशिक्षण प्रतिष्ठान मातातीर्थलाई 

लोकपथ
175
Shares

काठमाडौं । ‘सशस्त्र प्रहरी महानिरीक्षक कप–२०८२’ को रनिङ ट्रफि राष्ट्रिय सशस्त्र प्रहरी बल नेपाल प्रशिक्षण प्रतिष्ठान मातातीर्थले जितेको छ । 

सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयमा सोमबार सम्पन्न भएको सो प्रतियोगितामा ८ स्वर्ण, ५ रजत र ४ कांस्य गरी कुल १७ पदकसहित राष्ट्रिय सशस्त्र प्रहरी बल नेपाल प्रशिक्षण प्रतिष्ठान मातातीर्थ प्रथम भएको हो । 

त्यस्तै सशस्त्र प्रहरी बल नेपाल नं. ९ पशुपतिनाथ बाहिनी मुख्यालय काठमाडौं ७ स्वर्ण, ८ रजत र ६ कांस्यसहित द्वितीय र नं. १ बराह बाहिनी मुख्यालय सुनसरी ४ स्वर्ण २ रजतसहित तृतीय भएको हो । 

प्रतियोगिताको समापन समारोहमा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले प्रथम हुन सफल प्रतिष्ठानका कार्यकारी निर्देशक सशस्त्र प्रहरी नायब महानिरीक्षक पुरुषोत्तम थापालाई ट्रफी तथा नगद पुरस्कार तथा विजयी टिम तथा खेलाडीहरूलाई ट्रफि, मेडल प्रदान गर्नुका साथै उत्कृष्ट खेलाडी, प्रशिक्षक तथा अफिसियल र नेपाल एपीएफ क्लबलाई सहयोग पु¥याउने विभिन्न संघसंस्थाका महानुभावलाई पुरस्कार, कदरपत्र र प्रशंसापत्रसमेत प्रदान गरेका थिए । 

उनले सशस्त्र प्रहरी बल नेपालले आफ्नो मुख्य जिम्मेवारीको अतिरिक्त खेलकुद क्षेत्रको विकास, विस्तार र प्रवर्द्धनमा निरन्तर योगदान दिँदै आएको बताउँदै यस्ता प्रतियोगिताहरूले संगठनभित्र लुकेर रहेका प्रतिभाहरूलाई पहिचान गर्नुका साथै खेलाडीहरूको अनुशासन, कर्तव्यपरायणता, नेतृत्व क्षमता र सामूहिक भावनाको विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताए । 

यस्ता प्रतियोगिताले सामूहिक सोच, एकता, समर्पण र अन्तिम क्षणसम्म संघर्ष गर्ने भावना विकास गर्दै संगठनको उद्देश्य तथा राष्ट्रिय हितप्रति दृढ प्रतिबद्धता कायम राख्ने उल्लेख गर्दै महानिरीक्षक अर्यालले भने, ‘खेलकुदलाई केवल प्रतिस्पर्धा वा मनोरञ्जनको रूपमा मात्र सीमित गरेर हेर्नु हुँदैन, खेलकुद क्षमता अभिवृद्धि गर्ने, तीव्र निर्णय, क्षमता, परिस्थितअनुसार अनुकूल हुने दक्षता, समन्वय तथा संयमित आक्रामकता जस्ता गुणहरू सिकाउने आधारस्तम्भ हो ।’ 

उनले खेलकुदले शारीरिक शक्ति र सहनशीलता अभिवृद्धि गर्नुका साथै संगठनमा कार्यरत सशस्त्र प्रहरी कर्मचारीहरूमा समेत उच्च मनोबलका साथ कार्यक्षेत्रमा आफ्नो जिम्मेवारी र मानसिक तनावलाई सन्तुलित र स्वस्थ तरिकाले व्यवस्थापन गर्न सहयोग पु¥याउने बताउँदै सम्पूर्ण खेलाडीहरूले खेल क्षेत्रमा आफ्नो निरन्तर सुधार, उच्च समर्पण र अनुशासनका साथ अघि बढ्दै संगठन र राष्ट्रको गौरव बढाउन अग्रसर रहनुपर्ने बताए । 

महानिरीक्षक अर्यालले उपलब्धि हासिल गर्न निरन्तर परिश्रम, अनुशासन र समर्पण आवश्यक रहेको उल्लेख गर्दै पराजित हुने खेलाडीहरूले हार अन्त्य होइन, सुधार र आत्ममूल्यांकनको अवसरको रूपमा लिई खेलमैदानमा खेलेको अनुभवबाट पाठ सिक्दै अगाडि बढियो भने एक दिन सफलता पक्कै मिल्ने बताए । 

नेपाल एपीएफ क्लबको आयोजनामा यही चैत २४ गतेदेखि सञ्चालन भएको प्रतियोगितामा राष्ट्रिय सशस्त्र प्रहरी बल नेपाल प्रशिक्षण प्रतिष्ठान र सशस्त्र प्रहरी बल नेपालका बाहिनी मुख्यालयहरू गरी नौ वटा टिमको सहभागिता रहेको थियो । 

प्रतियोगितामा फुटबल, भलिबल र एथलेटिक्स विधाका खेलहरू समावेश गरिएको थियो । 

कार्यक्रममा सशस्त्र प्रहरी परिवार महिला संघका पदाधिकारीहरू, अवकाशप्राप्त सशस्त्र प्रहरी महानिरीक्षकहरू, सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरू, विभिन्न खेलकुद संघसंस्थाका पदाधिकारीहरूलगायत सशस्त्र प्रहरी अधिकृत तथा बिल्लादार जवानहरूको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?