काठमाडौं । डिभोर्सी महिलाहरुलाई बहकाउमा पारी सम्बन्ध बनाई सम्पत्ति समेत लिएर सम्पर्कविहीन हुने गरेका एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
बिहीबार भक्तपुरको सूर्यविनायक नगरपालिका–९ पँलासेबाट काभ्रेका उमेश सापकोटालाई प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय दाङमा जबरजस्ती करणीको कसुरमा जाहेरी दर्ता भई अदालतबाट पक्राउ पूर्जसमेत जारी गरिएको सापाकोटालाई बिहीबार भक्तपुरबाट पक्राउ गरिएको हो । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरीले काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–२ स्थायी ठेगाना भई धुलिखेल नगरपालिका–५ श्रीखण्डपुर महाकाली टोलमा बस्ने ४० वर्षीय उमेश सापकोटालाई पक्राउ गरेको हो ।
सोपकोटाविरुद्ध दाङको तुलसीपुरमा एक महिलाले जबरजस्ती करणीको जाहेरी दिएकी थिइन् । सांकेतिक नामथर ५६ तुलसीपुर ०८२–४९ ले आफूलाई जग्गा कारोबारी रहेको भनी चिनजानमा आई नजिक भएर बलात्कारसमेत गरी आफ्नो सम्पत्तिसमेत लगेको भन्दै प्रहरीमा जाहेरी दिएकी थिइन् । सोही जाहेरीका आधारमा दाङ प्रहरीले अदालतबाट सापकोटाविरुद्ध पक्राउ पूर्जी समेत लिएको थियो ।
प्रारम्भिक अनुसन्धानमा सापकोटाले डिभोर्सी महिलासँग नजिक भई सम्बन्ध बनाउने उनीहरुको सम्पत्ति समेत लिने र शारीरिक सम्बन्ध बनाउने गरेको पाइएको छ ।
सापकोटाले आफूलाई जग्गा कारोबारीका रुपमा प्स्तुत गर्दै सम्बन्ध विच्छेद भएका महिलालाई लक्षित गरी साथी बनाउने गरेको पाइएको छ । डिभोर्सी महिलासँग नजिकिएर उनीहरूको समस्या समाधानमा सहयोग गर्छु भन्दै सम्पर्कमा आउने र आर्थिक तथा शारीरिक फाइदा लिने गरेको पाइएको छ ।
डिभोर्सी महिलाहरु नजिकिएपछि सापकोटाले सुरुमा मित्रता बनाई विश्वास जित्ने गरेको पाइएको छ । त्यसपछि ललाइफकाइ गरी उनीहरूको नाममा रहेको घर जग्गा जस्ता अचल सम्पत्तिहरु बैंकमा धितो राख्न लगाई पैसा निकाल्न लगाउने र उक्त रकमसमेत आफैँले लैजाने गरेको पाइएको छ ।
त्यसपछि उनै महिलाहरुलाई इज्जतको डर देखाएर आर्थिक लाभ लिने र बलात्कारसमेत गर्ने गरेको पाइएको छ । यसरी महिलाहरुलाई ठगी गरी सापकोटाले कम्तीमा चारवटा गाडी किनेको र सम्पत्तिहरु जोडेको प्रहरीको दाबी छ ।
सापकोटाको शिकार भएकी एक महिलाले जाहेरी दिएको भएपनि कम्तीमा ४ जना महिलाहरु सापकोटाबाट पीडित बनेको प्रहरीको दाबी छ ।
उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई जिल्ला प्रहरी कार्यालय दाङमा पठाएको छ
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया