काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष हेमराज ढकालले निजी क्षेत्रको सुदृढीकरणबिना कुनै पनि राजनीतिक व्यवस्था दीर्घकालीन रूपमा टिकाउ हुन नसक्ने बताएका छन् ।
राजधानीमा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले संघीय संरचना र नयाँ संविधानले जगाएको आशा आर्थिक क्षेत्रमा रूपान्तरण हुन नसकेको उल्लेख गर्दै नयाँ सरकारले आर्थिक सुधारमा विशेष ध्यान दिनुपर्ने बताए ।
ढकालले निजी क्षेत्रप्रति हेर्ने दृष्टिकोण परिवर्तन गर्न आवश्यक रहेको बताउँदै गत भदौ २४ गते निजी क्षेत्रमाथि भएको आक्रमणमा संलग्नलाई कारबाही गर्न माग गरे । निजी क्षेत्रलाई मात्र दोषी देखाउने प्रवृत्तिले लगानी वातावरण बिगार्ने उनको भनाइ थियो ।
भौतिक पूर्वाधारतर्फ संकेत गर्दै उनले सडक विस्तार भए पनि प्रमुख राजमार्गको अवस्था कमजोर रहेको बताए । ठुला र गुणस्तरीय पूर्वाधारको अभावका कारण उद्योगी–व्यवसायीको ढुवानी लागत बढिरहेको उनले औँल्याए ।
उनले भने, ‘जताततै सडक बने पनि मुख्य राजमार्ग राम्रो हुन सकेका छैनन् । कनेक्टिभिटीका ठुला परियोजना नहुँदा लगिस्टिक लागत बढेको छ ।’
ढकालले करबाट संकलित स्रोतको सदुपयोग आवश्यक रहेको उल्लेख गर्दै शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधार अपरिहार्य रहेको बताए । गुणस्तरीय शिक्षा काठमाडौं केन्द्रित मात्र नभई सातै प्रदेशमा समान रूपमा विस्तार हुनुपर्नेमा उनको जोड थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया