हनी ट्र्याप प्रकरण : इन्स्पेक्टर बिनु शाहीले पाइन् सफाइ

६ जना प्रतिवादीमा ५ जनाले पाए सफाइ, इस्लामीलाई डेढ वर्ष कैद सजाय

लोकपथ
0
Shares
निलम्बित इन्स्पेक्टर बिनु कुमारी शाही

काठमाडौं । हनी ट्र्याप प्रकरणमा मुछिएकी निलम्बित प्रहरी निरीक्षक (इन्स्पेक्टर) बिनु शाहीले सफाइ पाएकी छन् । मंगलबार (आज) ललितपुर जिल्ला अदालतका न्यायाधीश ढाकाराम पौडेलको इजलासले उनलाई सफाइ दिएको हो ।

शाही ललितपुरको प्रहरी प्रभाग भैँसेपाटीमा कार्यरत रहँदा उनीमाथि हनी ट्रयापमा पारी आपराधिक लाभ लिएको आरोप लागेको थियो । उनलाई २०८१ असोज ३० गते प्रहरीले पक्राउ गरी अनुसन्धान अघि बढाएको थियो ।

ललितपुर जिल्ला अदालतले मंगलबार फैसला सुनाउँदै तत्कालीन इन्सपेक्टर बिनुकुमारी शाहीसहित भिमादेवी थापा, सुस्मा विश्वकर्मा, दर्शन पोखरेल र महेन्द्र हमाललाई पनि सफाइ दिएको छ । हनी ट्रयापको घटनामा प्रत्यक्ष जोडिएका ताज मुल भन्ने तजम्मुल इस्लामीलाई भने दोषी ठहर गर्दै डेढ वर्ष कैद र ३० हजार रुपैयाँ जरिवाना गरिएको छ ।

के हो प्रकरण ?

‘हनी ट्र्याप’ घटनामा बलात्कारको कसुर लगाएर फसाइदिने भन्दै तत्कालीन प्रहरी निरीक्षक शाहीले पीडित भनिएका व्यक्तिसँग ३० लाख रुपैयाँमा डिल गरेको आरोप लागेको छ । पीडितले नै प्रहरीलाई भनेपछि घटना बाहिर आएको थियो ।

घटना बाहिर आएपछि प्रहरी निरीक्षक शाहीलाई जिम्मेवारीबाट हटाएर महानगरीय प्रहरी कार्यालय रानीपोखरी तानिएको थियो । त्यहीँ रहँदा उनी निलम्बनमा परेकी थिइन् । ती व्यवसायीले आफूसँग रकम असुल्न तत्कालीन समयमा प्रहरी प्रभाग भैँसेपाटीमा इन्चार्ज रहेकी शाही पनि मिलेको आरोप लगाएपछि डीएसपी नरहरि अधिकारी नेतृत्वको छानबिन समिति गठन भएको थियो । समितिको सिफारिसको आधारमा उनलाई पदबाट निलम्बन गरिएको थियो ।

यो प्रकरणमा प्रहरीले भैँसेपाटी प्रभागमै कार्यरत एक जना सहायक हवलदारसहित ४ जनालाई पक्राउ गरेको थियो । ।

शाहीलाई पक्राउ गर्नुअघि प्रहरीले सुनसरीको इटहरी घर भएकी भीमादेवी थापालाई पक्राउ गरेको थियो । त्यसअघि सुस्मा विक र इटहरी घर भएका तजम्मुल इस्लामीलाई पक्राउ गरेको थियो ।

यसअघि प्रकाशित यो पनि…

हनी ट्र्याप प्रकरणमा निलम्बित इन्स्पेक्टर शाहीविरुद्ध पक्राउ पुर्जी जारी, पक्राउका लागि प्रहरी परिचालन

हनी ट्र्याप प्रकरणमा मुछिएकी निलम्बित इन्सपेक्टर शाहीले दिइन् छानबिन समतिविरुद्ध नै गृहमा उजुरी

‘हनी ट्र्याप’ प्रकरणमा मुछिएकी निलम्बित प्रहरी निरीक्षक शाही अदालतमा हाजिर

‘हनी ट्याप’ मा मुछिएकी इन्सपेक्टर शाहीसहित सबै आरोपीमाथि संगठित अपराधमा पनि अनुसन्धान हुने

भैंसेपाटी ‘हनी ट्र्याप’ प्रकरणको अनुसन्धान अब सीआईबीले गर्ने







यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?