युरोप पठाइदिन्छु भन्दै २५० भन्दा बढी युवाबाट करोडौँ ठगेर भारतमा मःम: पसल !

यसरी पक्राउ परे ‘तेल भिसा’ फिल्मका निर्माता शिवराज कार्की

लोकपथ
609
Shares

काठमाडौं । मंगलबार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा १ सय जनाभन्दा बढी युवाहरूको उपस्थिति थियो । आफूहरूलाई युरोपमा पठाइदिन्छु भन्दै ठगी गरेर फरार भएका व्यक्तिलाई पक्राउ गरिएको जानकारी पाए लगत्तै उनीहरू जाहेरी दिन प्रहरी कार्यालयमा पुगेका थिए ।

करिब २ वर्ष अगाडिदेखि आफूहरूलाई क्रोएसिया, रोमानिया, इटाली लगायतका देशमा रोजगारीका लागि पठाइदिन्छु भन्दै ठगी गरेर फरार भएका शिवराज कार्की पक्राउ परेपछि उनीहरू जाहेरी दिन काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा उपस्थित भएका थिए ।

वैदेशिक रोजगारसम्बन्धी कसुरमा ६ वटा पक्राउ पुर्जी जारी भएका शिवराज कार्कीलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले भारतको नयाँदिल्लीस्थित पहाडगञ्जबाट पक्राउ गरेर काठमाडौं ल्याएको थियो । वैदेशिक श्रमिक हकहित संरक्षण समाजको सहयोगमा दिल्लीबाट काठमाडौं ल्याइएका उनलाई वैदेशिक रोजगार विभागको जिम्मा लगाउनु पूर्व पीडितहरू संयुक्त जाहेरी दिन प्रहरी कार्यालयमा पुगेका थिए ।

चाबहिलमा कन्सल्टेन्सी खोलेर ठगी

सिन्धुलीको सुनकोसी गाउँपालिका वडा नम्बर ७ स्थायी ठेगाना भई काठमाडौंको गोकर्णेश्वर नगरपालिका ४ माकलबारीमा बस्थे शिवराज कार्की । ४४ वर्षीय कार्कीले विगत १० वर्षदेखि चाबहिलमा पी एन्ड एम इन्नोभेटिभ सर्भिसेज नामक कन्सल्टेन्सी चलाइरहेका थिए । कन्सल्टेन्सीको काम परामर्श दिने भए पनि उनले त्यही कन्सल्टेन्सीको आडमा व्यक्तिगत श्रम स्वीकृति लिई युरोपका देशहरूमा रोजगारीका लागि पठाउने भन्दै रकम असुल्ने गरेका थिए ।

ठगीका आरोपी शिवराज कार्की

कार्कीले क्रोएसिया, ग्रिस, इटाली, अजरबैजान, सर्बिया लगायतका देशहरूमा पठाउने भनी रकम असुल गरे पनि उनीहरूलाई ती देशहरूमा नपठाई ठगी गरेको आरोप लागेको छ । प्रारम्भिक जानकारी मै २ करोड ५० लाख रुपैयाँभन्दा बढी रकम उठाएर फरार रहेको जानकारी प्राप्त भएको ठगिएका अधिकांश व्यक्तिहरू सिन्धुपाल्चोकका रहेका काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी एसपी मनोहर भट्टले बताए ।

भट्टका अनुसार कार्कीले प्रतिव्यक्ति १ लाख रुपैयाँदेखि २० लाख रुपैयाँसम्म उठाएको पाइएको र हालसम्ममा १ सय जनाभन्दा बढी पीडित आफूहरूको सम्पर्कमा रहेको बताए । हालसम्मकै जानकारीमा २ करोड ५० लाख रुपैयाँभन्दा बढी रकम ठगी भएको पाइएको भट्टले बताए ।

लामो समयदेखि विदेशमा पठाइदिन्छु भनेर लगेको रकम फिर्ता पनि नगरी ठगी गरेपछि पासाङ नोर्बु तामाङ समेतको जाहेरीले शिवराज कार्कीविरुद्ध वैदेशिक रोजगार सम्बन्धी कसुरमा पक्राउ पुर्जी जारी भएको थियो । वैदेशिक रोजगार न्यायाधिकरणबाट २०८२ भदौ ४ गते पक्राऊ पुर्जी जारी भएपछि उनी नेपालबाट भागेर भारतको नयाँ दिल्लीमा रहेको पहाडगञ्ज इलाकामा अन्नपूर्ण फास्ट फुड नामक मोमो पसल सञ्चालन गरी बसेका थिए । प्रहरी टोली र पीडितहरूको समन्वयमा उनलाई दिल्लीबाट काठमाडौंसम्म ल्याइएको प्रहरीले जनाएको छ । यद्यपि उनलाई स्वयम्भू क्षेत्रबाट पक्राउ गरिएको प्रहरीले दाबी गरेको छ ।
प्रहरीका अनुसार कार्कीविरुद्ध वैदेशिक रोजगार विभागमा ६ वटा मुद्दाहरू दर्ता भई पक्राउ पुर्जी जारी भएको थियो ।

तेल भिसा नामक फिल्मको निर्माता हुन् कार्की

त्यसो त वैदेशिक रोजगार ठगीमा पक्राउ परेका शिवराज कार्की तेल भिसा नामक फिल्मको निर्मातासमेत हुन् । पीडितहरूले आफूहरूबाट रकम उठाएर तेल भिसा नामक फिल्म बनाएको आरोप लगाएका छन् ।

यद्यपि लोकपथसँगको संक्षिप्त कुराकानीमा आफू फिल्मको निर्माता भए पनि तेल भिसाको फिल्म र वैदेशिक रोजगारी ठगीमा कुनै साइनो नरहेको बताएका छन् ।

लोकपथसँगको कुराकानीमा कार्कीले आफूलाई पनि अन्य एजेन्टले फसाएको र यो ठगीमा आफूसमेत पीडित रहेको दाबी गरेका छन् । लोकपथसँगको कुराकानीमा कार्कीले आफूलाई अमेरिकामा रहेका एक नेपाली एजेन्टले धोका दिएको र आफूले लिएको रकमहरू नेपालमा रहेकी ती एजेन्टको श्रीमतीको बैंक खातामा नै हालेको बताए ।

भारतमै आधार कार्ड र प्यान कार्ड बनाइसकेका थिए कार्कीले

भारतबाट पक्राउ गरी नेपाल ल्याइएको कार्कीले भारतमै आधार कार्ड र प्यान कार्डसमेत बनाइसकेको पाइएको छ । लोकपथलाई प्राप्त उनको आधार कार्डमा उनले २०१९ को अगस्ट २१ मै आधार कार्ड बनाएको पाइएको छ । यद्यपि उनले प्यान कार्ड लिएको मिति भने २०२५ को डिसेम्बर २५ अर्थात् २०८२ पुस १० गते रहेको छ ।

त्यसै गरी कार्कीले २०१९ अगस्ट ३० मै भारतको आयकर विभागबाट स्थायी लेखा नम्बर अर्थात् प्यान कार्डसमेत लिएको पाइएको छ ।

आधार कार्ड र प्यान कार्ड नै लिएर उनी भारतमै लुकिछिपी बस्ने तयारी गरी व्यापार समेत सुरु गरिसकेको अवस्थामा कार्कीलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरीले भारतबाटै विभिन्न निकायसँग समन्वय गरी नेपाल ल्याएको हो ।
पक्राउपछि लोकपथसँगको कुराकानीमा कार्कीले आफूले आफ्नो सम्पत्ति बेचेर पनि पीडितहरूको रकम तिर्ने बताए । यद्यपि आफूसमेत पीडित रहेकाले आफूलाई समेत न्याय हुनुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?