काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा घाइते भई वर्गीकरणमा पर्न छुटेका व्यक्तिहरूका लागि अन्तिम पटक मौका दिएको छ ।
काठमाडौं प्रशासनले शुक्रबार एक सूचना जारी गर्दै यसअघिका प्रक्रियामा उपस्थित हुन नसकेका घाइतेहरूलाई लक्षित गर्दै अन्तिम पटक मौका दिइएको जनाएको छ । काठमाडौं प्रशासनले वर्गीकरण प्रक्रियामा सहभागी हुन चैत २० गते शुक्रबार दिउँसो १२ बजेसम्म जिल्ला प्रशासन कार्यालय, काठमाडौं पुग्न आग्रह गरेको छ । आवेदन दिन उपचार तथा स्वास्थ्य परीक्षण गरिएका सक्कल कागजात र जेनजी घाइते परिचयपत्र ल्याउन र घाइते व्यक्ति स्वयं उपस्थित हुन भनिएको छ ।
काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी मुक्तिराम रिजालले विविध कारणले यसअघिका प्रक्रियामा उपस्थित हुन नसकेका घाइतेहरूलाई लक्षित गर्दै यो आह्वान गरिएको बताए ।
काठमाडौं प्रशासनका अनुसार ‘जेनजी प्रदर्शनका घाइतेहरूको वर्गीकरण सम्बन्धी कार्यविधि, २०८२’ बमोजिम प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा रहेको समितिले यसअघि तीनपटक अधिकांश घाइतेको वर्गीकरण टुंग्याइसकेको छ ।
काठमाडौं प्रशासनले यसअघि मंसिर ५, मंसिर १२ र माघ १८ गते गरी तीनपटक घाइतेको वर्गीकरण गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया