काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदीय दलको नेता चयन गर्न केही समय लाग्ने बताएको छ ।
आइतबार बसेको पार्टीको सचिवालय बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै पार्टी प्रवक्ता मनिष झाले पार्टी सभापति रवि लामिछाने अस्वस्थ रहेका कारण संसदीय दलको नेता छान्ने प्रक्रियामा केही ढिलाइ भएको बताए ।
उनका अनुसार संसदीय दलको नेता भने बालेन्द्र साह नै हुनेछन् । पूर्वसहमति र प्रतिबद्धताबाट पार्टी दायाँबायाँ नहुने उनले स्पष्ट पारे ।
झाले संसदीय दलको नेता चयनका लागि केन्द्रीय समितिको बैठक बस्नुपर्ने बताए । उनका अनुसार औपचारिक प्रक्रिया सुरु नभए पनि आन्तरिक र अनौपचारिक रूपमा भने यस विषयमा छलफल भइरहेको छ ।
उनले भने, ‘हामीले केन्द्रीय समितिको बैठक कुर्नुपर्छ । आन्तरिक र अनौपचारिक रूपमा हामीले छलफल गरिरहेका छौँ । प्रक्रियागत रूपमा अगाडि बढ्न केही नेताहरूको उपस्थितिको प्रतीक्षा गर्नुपरेको छ । स्वास्थ्य अवस्थाका कारण केही नेताहरूको उपस्थिति अझै पर्खिनुपर्ने भएकाले केही समय लाग्ने भएको हो । तर हामी जिम्मेवार छौँ र गरेको प्रतिबद्धता बिर्सेका छैनौँ । त्यसैले यसमा तलमाथि होला कि भन्ने आशंका नगर्नुहोस् ।’
प्रवक्ता झाले संसदीय दलको नेता चयनबारे कुनै आशंका नगर्न आग्रह गर्दै पार्टीले वरिष्ठ नेता बालेन्द्र साहलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने सहमति गरेर नै पार्टीमा भित्र्याएको स्मरण गराए । सोही सहमति कार्यान्वयन गर्ने उनले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया