रास्वपाले टुंग्यायो ५७ जना समानुपातिक सांसद, नाम तत्काल सार्वजनिक नगर्ने 

लोकपथ
77
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले समानुपातिकतर्फको ५७ जना सांसदको नाम टुंग्याएको छ । 

आइतबार बसेको पार्टीको सचिवालय बैठकले समानुपातिक सांसदको नाम टुंग्याएको हो । बैठकले ५७ जना सांसदको नाम टुंग्याएर आइतबार नै निर्वाचन आयोगमा नामावली बुझाउने निर्णय गरेको रास्वपाका प्रवक्ता मनिष झाले जानकारी दिए । 

उनकाअनुसार ४८ जना महिला र ९ जना पुरुषलाई समानुपातिकतर्फबाट सांसद बनाइनेछ । जसअन्तर्गत खस आर्यमा १७ जना, जनजाति १६ जना, दलित ८ जना, मुस्लिम ३ जना, मधेसी ९ जना, थारु ५ जना गरी ५७ जना रहेका छन् । 

उनले पार्टीले निर्वाचन आयोगमा बुझाएका नामावली भने तत्काल सार्वजनिक नगर्ने जानकारी दिए । निर्वाचन आयोगमा नामावली बुझाएपछि आयोगले रुजु गर्ने र ठिक भएका नामावलीहरू आयोगले नै सार्वजनिक गर्ने उनको भनाई छ । 

पार्टीले सिफारिस गरेका नामहरू राजनीतिक र कानुनी प्रक्रियाअनुसार आयोगले स्वीकृत नगरेसम्म त्यसलाई प्रस्तावित मात्र मान्न सकिने भएकोले तत्काल नामावली सार्वजनिक नगरेको उनले बताए  । 

उनले भने, ‘हामीले निर्वाचन आयोगलाई आज नै तोकिएको समय सीमाभित्र राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट ५७ जनाको नामावली बुझाउने निर्णय गरेका छौँ । जसअन्तर्गत खस आर्यमा १७ जना, जनजाति १६ जना, दलित ८ जना, मुस्लिम ३ जना, मधेसी ९ जना, थारु ५ जना गरी ५७ जना र यसमा विधिले माग गरे बमोजिम ४८ जना महिला र ९ जना पुरुष रहनुभएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सचिवालयले जिम्मेवारी दिएर सचिवालय सदस्यहरूको नेतृत्वमा आज नै तोकिएको समयभित्र निर्वाचन आयोगमा यो नामावली बुझाइनेछ । तपाईँहरूको उत्सुकता हुनु सक्छ, को को हुनुहुन्छ, हामीले निर्वाचन आयोगमा नामावली बुझाउँछौँ, उहाँहरूले रुजु गर्नुहुन्छ । रुजु र प्रमाणितको प्रक्रिया भएपछि निर्वाचन आयोगले नै त्यो नामहरू सार्वजनिक गर्नेछ । राजनीतिक र कानुनी प्रक्रिया अन्तर्गत जबसम्म निर्वाचन आयोगले सो नामहरू स्वीकृत गर्दैन, रुजु गर्दैन, तबसम्म त्यसलाई हामीले हाम्रो तर्फबाट प्रस्तावित मात्र मान्न सकिने भएकोले हामी त्यो नामहरू निर्वाचन आयोगको तर्फबाट नै सार्वजनिक होस् भनेर त्यतिन्जेलसम्म हामी कुर्नेछौँ ।’ 

बैठकले निर्वाचन सम्पन्न गरेकोमा सरकार, प्रहरी, निर्वाचनमा खटिएका सम्पूर्ण कर्मचारीलाई धन्यावाद दिने निर्णय पनि गरेको उनले बताए  । बैठकले अस्वस्थ रहेका पार्टी सभापति रवि लामिछाने लगायतका नेताहरूको स्वास्थ्य लाभको कामना गर्ने निणय पनि गरेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?