महिलाहरु राजनीतिक दलको घेराभन्दा माथि उठेर एकजुट हुनुपर्छ : अष्टलक्ष्मी शाक्य

लोकपथ
49
Shares

काठमाडौं । नेकपा एमालेकी नेतृ तथा वागमती प्रदेशकी पूर्व मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले हालै सम्पन्न निर्वाचनले देशको राजनीतिक अन्यौलतालाई केही हदसम्म चिरे पनि स्थिरताको प्रश्न भने अझै कायमै रहेको बताएकी छन् ।

११६ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको सन्दर्भ पारेर मोतिदेवी स्मृति केन्द्रद्वारा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै नेतृ शाक्यले देशको वर्तमान राजनीतिक परिस्थितिप्रति चिन्ता व्यक्त गरेकी हुन् । सबै नेपालीले देशलाई माया गर्नुपर्नेमा उनको जोड छ । देश कसरी अगाडि बढ्छ भन्ने आम नागरिकको जिज्ञासालाई सम्बोधन गर्दै उनले वर्तमानका चुनौतीहरुलाई सामना गर्न सम्पूर्ण नेपालीबीच एकताको आवश्यकता औंल्याइन् ।

नेतृ शाक्यले देश रहे मात्र नागरिकको अस्तित्व रहने कुरामा जोड दिइन् । देशलाई माया गर्न र नेपाली–नेपालीबीच एकताको भावना विकास गर्न उनले सबैमा आह्वान समेत गरीन् । संघीय लोकतान्त्रिक गणतन्त्रलाई स्थायित्व दिन र संविधानले परिकल्पना गरेको समाजवादको लक्ष्यमा पुग्न राज्यले विशेष ध्यान दिनुपर्ने उनको भनाइ छ ।

समाजवादको गन्तव्यमा पुग्नका लागि शिक्षा, स्वास्थ्य, रोजगार, सुशासन र सामाजिक न्यायको क्षेत्रमा आमूल परिवर्तन ल्याउनुपर्ने र यसका लागि सबै पक्ष एकजुट भएर लाग्नुपर्नेमा नेतृ शाक्यको जोड छ । नेतृ शाक्यले देशको समृद्धि, सुशासन र न्यायका लागि नेपाली महिलाहरु राजनीतिक दलको घेराभन्दा माथि उठेर एकजुट हुनुपर्ने बताइन् । महिलाहरु विभिन्न राजनीतिक पार्टीमा आवद्ध भएपनि राष्ट्रिय मुद्दामा उनीहरुको एउटै स्वर हुनुपर्नेमा उनको जोड छ ।

संविधानले नै महिलाका हक अधिकारलाई सुरक्षित गरिसकेको र राज्यका हरेक निकायमा महिलाको पहुँच सुनिश्चित गर्दै लगेको अवस्थामा अब महिलाहरु चुप लागेर बस्न नहुने उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?