निर्वाचनका लागि ३ घेराको सुरक्षा व्यवस्था : ३ हजार ६८० मतदान स्थल ‘अति संवेदनशील’

लोकपथ
98
Shares

काठमाडौं । सरकारले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न एकीकृत सुरक्षा योजना अन्तर्गत कडा सुरक्षा व्यवस्था लागू गरेको जनाएको छ ।

निर्वाचन आयोगका सचिव कृष्णबहादुर राउतले गृह मन्त्रालयको समन्वयमा तयार पारिएको सुरक्षा योजना प्रभावकारी रूपमा कार्यान्वयनमा गइसकेको जानकारी दिएका छन् ।

आयोगका अनुसार देशभर रहेका कुल १० हजार ९ सय ६७ मतदान स्थललाई सुरक्षा संवेदनशीलताका आधारमा तीन श्रेणीमा वर्गीकरण गरिएको छ । विगतका निर्वाचनको सुरक्षा विश्लेषण र वर्तमान अवस्थाको मूल्याङ्कनका आधारमा ३ हजार ६ सय ८० मतदान स्थललाई ‘अति संवेदनशील’ सूचीमा राखिएको छ । त्यसैगरी, ४ हजार ४ सय ४२ मतदान स्थल ‘संवेदनशील’ र २ हजार ८ सय ४५ मतदान स्थल ‘सामान्य’ श्रेणीमा समावेश गरिएको छ ।

सचिव राउतका अनुसार यो वर्गीकरण विशुद्ध रूपमा सुरक्षाकर्मी परिचालनलाई व्यवस्थित, प्रभावकारी र संवेदनशीलताअनुसार केन्द्रित गर्नका लागि गरिएको हो । उनले विगतमा अपनाइँदै आएको सुरक्षा मोडेलअनुसार यसपटक पनि तीन घेराको सुरक्षा व्यवस्था कायम गरिएको स्पष्ट पारे ।

सुरक्षा योजनाअनुसार मतदान स्थलको सबैभन्दा बाहिरी घेरामा नेपाली सेना खटिनेछ । त्यसपछिको बीचको घेरामा सशस्त्र प्रहरी बल रहनेछ भने भित्री अर्थात् कोर घेराको सुरक्षा जिम्मा नेपाल प्रहरीलाई दिइएको छ ।

आयोगले एकीकृत सुरक्षा योजना प्रभावकारी रूपमा कार्यान्वयन भइरहेकाले मतदातालाई ढुक्क भएर मतदान प्रक्रियामा सहभागी हुन आह्वान गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?