निर्वाचन विरोधी गतिविधि गर्नेलाई सिधै अदालत पुर्‍याउँछौँ : गृहमन्त्री अर्याल

लोकपथ
28
Shares
फाइल तस्बिर

 काठमाडौं । अन्तरिम सरकारका गृहमन्त्री ओमप्रकाश अर्यालले ‘प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२’ लाई लक्षित गर्दै देशभर पूर्ण सुरक्षाको प्रत्याभूति गरिएको बताएका छन् ।

निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, धाँधलीरहित र भयमुक्त वातावरणमा सम्पन्न गर्न सरकारले सम्पूर्ण तयारी पूरा गरिसकेको उनले स्पष्ट पारे । मतदातालाई ढुक्क भएर मतदानमा सहभागी हुन आग्रह गर्दै गृहमन्त्री अर्यालले निर्वाचन सुरक्षा, मतपत्र तथा मतपेटिका ढुवानीसम्बन्धी स्पष्ट मापदण्ड तय गरिएको जानकारी दिए ।

उनकाअनुसार सरकारले ‘एकीकृत सुरक्षा योजना’ पारित गरी सोही आधारमा सुरक्षा संयन्त्रहरू परिचालन गरिसकेको छ । देशभरका सबै मतदान केन्द्रमा सुरक्षाकर्मी पुगिसकेको र आवश्यक परे तत्कालै थप सुरक्षा व्यवस्थापन गर्न सकिने उनले बताए ।

गृहमन्त्री अर्यालले भने, ‘प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ का लागि एकीकृत सुरक्षा योजना कार्यान्वयनमा छ । सोही योजना अनुसार अहिले सबै मतदान स्थलमा सुरक्षा संयन्त्र परिचालित छन् । आवश्यकताअनुसार सुरक्षाको अवस्थालाई काबुमा राख्ने र सहजीकरण गर्ने तयारी अवस्थामा छ ।’

मतदान सम्पन्न भएपछि मतपेटिकाहरू सुरक्षित रूपमा निर्वाचन अधिकृतको कार्यालयसम्म पुर्‍याउने स्पष्ट व्यवस्था गरिएको उनले बताए । सुरक्षा योजनाको अनुसूची–२ मा मतपेटिका बोक्ने सवारी व्यवस्थापनबारे विस्तृत उल्लेख गरिएको जानकारी दिँदै उनले गाडीको अगाडि ड्राइभर र मतदान अधिकृत, त्यसपछि मतपेटिका, त्यसको पछाडि प्रहरी र सबैभन्दा पछाडि उम्मेदवारका प्रतिनिधि रहने व्यवस्था मिलाइएको बताए ।

मतपेटिका बोकेको सवारीलाई नेपाल प्रहरी र सशस्त्र प्रहरी बल का सवारीले स्कर्टिङ गर्नेछन् भने आवश्यक परे नेपाली सेनाले समेत साथ दिने व्यवस्था गरिएको छ ।

निर्वाचन अवधिमा कुनै पनि गैरकानूनी वा अवाञ्छित गतिविधि सहन नहुने चेतावनी दिँदै गृहमन्त्री अर्यालले त्यस्ता गतिविधिमा संलग्नलाई नियन्त्रणमा लिएर अनुसन्धान, अभियोजन र अदालतसम्म पुर्‍याइने स्पष्ट पारे ।

अन्तरिम सरकारले गराउन लागेको यो निर्वाचन विगतका निर्वाचनभन्दा अझ सुदृढ, स्वच्छ र धाँधलीरहित हुने दाबी गर्दै उनले नागरिकलाई भयमुक्त वातावरणमा मतदान गर्न पाउने अधिकार सुनिश्चित गरिएको बताए ।

निर्वाचनलाई केवल प्रतिनिधि छान्ने प्राविधिक प्रक्रिया मात्र नभई राजनीतिक सुशासन सुदृढ गर्ने अवसरका रूपमा लिन उनले मतदातालाई आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?