चुनावको मुखमा एलआरआई स्कुलमा देखियो ‘बाल संसद्’ : विद्यार्थीले देखाए संसदीय अभ्यासकाे ताैरतरिका

लोकपथ
133
Shares

काठमाडौं । लर्निङ रिलम इन्टरनेसनल स्कुल (एलआरआई) ले आफ्नो ३८औँ वार्षिकोत्सवको अवसरमा विद्यालय परिसरभित्र स्थापित ‘बाल संसद्’ को नमुना प्रदर्शन गरेको छ । प्रतिनिधिसभा निर्वाचनको दुई दिन अगाडि मात्रै मंगलबार विद्यालयमा नमुना संसद्को अभ्यास भएको हो ।

विद्यार्थीहरूको नेतृत्व विकास, संसदीय अभ्यास, तर्क–वितर्क क्षमता, निर्णय प्रक्रिया तथा लोकतान्त्रिक मूल्य-मान्यताबारे व्यावहारिक अनुभव दिलाउने उद्देश्यले बाल संसद्को अभ्यास गरिएको विद्यालयले जनाएको छ । नेपालमै विद्यालय तहमा नियमित रूपमा सञ्चालन हुने यस प्रकारको नमुना संसद् अभ्यास एलआरआईमा मात्रै रहेको पनि विद्यालय प्रशासनले दाबी गरेको छ ।

मंगलबार कार्यक्रमको उद्घाटन संसद् सचिवालयका पूर्व महासचिव भरतराज गौतमले गरे ।

उद्घाटन मन्तव्यका क्रममा गौतमले संसद् सञ्चालन प्रक्रिया, लोकतान्त्रिक अभ्यासको महत्त्व तथा युवापुस्ताको भूमिकाबारे विस्तृतरुपमा बताएका थिए । उनले विद्यार्थीहरूले आफैँ सभामुख, प्रधानमन्त्री, मन्त्री तथा प्रतिपक्षको भूमिकामा रहेर प्रस्तुत गरेको कार्यसम्पादनको उच्च प्रशंसा समेत गरे । विद्यालय तहमै हुने यस्ता अभ्यासले भविष्यका सक्षम नेतृत्व निर्माणमा महत्त्वपूर्ण भूमिका खेल्ने बताउँदै विद्यालयले बालबालिकाको समग्र विकासका लागि गरेको प्रयास उदाहरणीय र प्रेरणादायी रहेको समेत बताए ।

नमुना संसद् सत्रमा विद्यार्थीहरूले समसामयिक विषयहरूमा प्रस्ताव पेस गर्दै पक्ष-विपक्षमा आ-आफ्ना धारणा राखेका थिए । शिक्षाको गुणस्तर, वातावरण संरक्षण, डिजिटल साक्षरता र युवा सशक्तीकरणजस्ता विषयका प्रस्तावहरू पेस गर्दै त्यसमा सत्तापक्ष र प्रतिपक्षबिचको चर्को तर मर्यादित बहस गराइएको थियो । संसद्को कार्यसूची, समय व्यवस्थापन, नियमावलीको पालना र अनुशासनका पक्षमा विद्यार्थीहरूले पूर्णरुपमा परिपालना गरेको पाइएको थियो ।

सभामुखको कुर्सीमा बसेका विद्यार्थीले सदन सञ्चालन गर्ने तरिका र नियमावलीको प्रयोगले उपस्थित सबैलाई चकित बनाएको थियो । कार्यक्रमले नेपालको संघीय संसद्को जीवन्त झल्को दिएको कार्यक्रममा उपस्थित अभिभावक तथा अतिथिहरूले प्रतिक्रिया दिए ।

कार्यक्रममा उपस्थित अभिभावकहरूले विद्यालयले अध्ययनसँगै व्यवहारिक तथा नेतृत्वमूलक गतिविधिमा दिएको प्राथमिकताको प्रशंसासमेत गरेका थिए । एक अभिभावकले भने, ‘हाम्रा बालबालिकाले पाठ्यपुस्तकमा मात्र संसद् पढेनन्, त्यसको प्रत्यक्ष अभ्यास गरे । उनीहरूमा देखिएको आत्मविश्वास र तर्क शक्ति देखेर हामी पनि छक्क प¥यौँ र विद्यालय तथा बालबालिकाप्रति हामी गौरवान्वित छौँ ।’

प्राचार्य बादल प्रधानले यस्तो प्रकारको कार्यक्रमले विद्यार्थीहरूको समग्र विकासमा महत्त्वपूर्ण भूमिका खेल्ने बताए । प्रधानले भने, ‘हामी विद्यार्थीहरूलाई केवल किताबी कीरा मात्र बनाउन चाहँदैनौँ, उनीहरू समाज र राष्ट्रको अग्रणी नेतृत्व बनुन् भन्ने हाम्रो चाहना हो । बाल संसद् त्यही सपनाको एक सिडी मात्रै हो ।’

प्रधानले विद्यालयले आयोजना गर्दै आएको यस प्रकारको गतिविधिले विद्यार्थीहरूको नेतृत्व क्षमता, आत्मविश्वास तथा सार्वजनिक अभिव्यक्तिमा समेत सीपको विकास गर्न योगदान पुर्‍याउने विश्वास राखे ।

निर्देशक डा. देवकान्त जोशीले बाल संसद् स्थापनाको औचित्यबारे प्रकाश पार्दै भने, ‘हामीले बाल संसद् किन स्थापना ग¥यौँ भने, यो पूर्ण रूपमा विद्यार्थीहरूका लागि बनाइएको अभ्यास हो । यस्तो अभ्यास हाम्रो विद्यालयमा मात्र सञ्चालन हुँदै आएको छ, जुन हाम्रो लागि गर्वको विषय हो । नेपालमा नियमित रूपमा यसरी विद्यालय तहमा संसद् अभ्यास गराउने हामी एक मात्र संस्था हौँ भन्ने हाम्रो दाबी छ ।’

विद्यालयका अनुसार बाल संसद् कार्यक्रम विगत केही वर्षदेखि सञ्चालन हुँदै आएको छ र यसले विद्यार्थीहरूमा आत्मविश्वास, सार्वजनिकरुपमा बोल्ने कला, समूह कार्य तथा जिम्मेवारी बोध विकास गर्न सहयोग पुर्‍याएको छ । यस प्रकारका अभ्यासले विद्यार्थीहरूलाई भविष्यमा जिम्मेवार नागरिक बन्न प्रेरित गर्ने जोशीले बताए ।

एलआरआई स्कुलका प्रमुख प्रशासकीय अधिकृत तथा सूचना अधिकारी दीपक जोशीले विगत केही वर्षदेखि सञ्चालन हुँदै आएको बाल संसद् कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिइने बताए ।

उनले भने, ‘हामीले यसलाई एउटा कार्यक्रम मात्र होइन, एउटा अभियानका रूपमा अघि बढाएका छौँ । यसले विद्यार्थीहरूमा नेतृत्वदायी क्षमता, आत्मविश्वास र लोकतान्त्रिक चेतना विकास गर्न मद्दत गरिरहेको छ । विगतका दिनहरूमा पनि यस्ता रचनात्मक तथा नेतृत्व विकासमुखी कार्यक्रमहरू निरन्तर रूपमा सञ्चालन गरिरहेका छौँ र आगामी दिनहरूमा पनि निरन्तर रूपमा यस्ता कार्यक्रम गर्दै जानेछौँ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?