मतदानको दिन वर्षा र हिमपातको सम्भावना छैन : मौसम विभाग

लोकपथ
63
Shares

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले मतदानको दिन (फागुन २१ गते) देशभरको मौसम सफा रहने बताएको छ । 

विभागका वरिष्ठ मौसमविद् वरुण पौडेलले मतदान प्रक्रिया प्रभावित हुने गरी वर्षा वा हिमपातको सम्भावना नरहेको बताएका हुन्  । 

उनले तथ्याङ्कमा आधारित पूर्वानुमानलाई परिमार्जन गर्दै विभागले एक हप्तासम्मको यथार्थपरक पूर्वानुमान गरिरहेको र सोहीअनुसार विशेष बुलेटिन जारी गर्नुका साथै नियमित अपडेट दिइरहेको समेत बताए । 

उनले लामो समयसम्म पानी नपरेको कारण मुलुकका पहाडी क्षेत्रमा बादल देखिएपनि तत्काल पानी पर्ने सम्भावना तथा हिमपातको सम्भावना नरहेको  उनको भनाइ छ । उनकाअनुसार मतदानको दिन बिहीबार बागमती, गण्डकी र कोशी प्रदेशका पहाडी भू–भागहरूमा आंशिक बादल लाग्न सक्ने देखिन्छ । उनले मुलुकका पहाडी भू–भागमा बादल लागिहाले पनि आत्तिहाल्नु पर्ने अवस्था नरहेको बताए । 

वरिष्ठ मौसमविद् पौडेलले भने, ‘अहिले हामीले निर्वाचनको लागि भनेर विशेष बुलेटिन पनि जारी गरिरहेका छौँ । हामी एक हप्ता अगाडिदेखि नै विशेष बुलेटिनको साथै नियमित अपडेट पनि जारी गरिरहेका छौँ । हामीले हेर्दा खेरी निर्वाचनको दिन पानी पर्ने सम्भावना छैन । मतदानको दिन मौसम राम्रो नै रहन्छ । यद्यपि बागमती, गण्डकी र कोशी प्रदेशका पहाडी भू–भागहरूमा आंशिक बादल लाग्न सक्ने देखिन्छ । र बादलसँगै तुवाँलो पनि छ यसमा किनभने वर्षा नभएको लामो समय भयो । त्यो तुवाँलो पनि थुप्रिएको छ । त्यस कारण निर्वाचन प्रभावित हुने गरी वर्षा, भारी वर्षा वा हिमपात त्यस्तो केही सम्भावना छैन । मतदानको दिन राम्रै मौसम हुने देखिन्छ । निर्वाचनको दिनको हकमा सबैतिरको मौसम सफा नै छ । आजको जस्तै बादल लाग्नेजस्तो बदली हुनसक्छ । त्यस्तो बदली भयो भने आत्तिहाल्नु हुँदैन । केही ठाउँमा हावा चल्ने हुनसक्छ । त्यसको लागि बुथहरूमा टेन्टहरू अलि बलियो गरी बाँध्ने हुनसक्छ । त्यसबाहेक वर्षा हुने र हिमपात हुने कुनै सम्भावना छैन । मौसम सफा नै रहनेछ ।’

आउँदो शनिबारसम्मको मौसम सफा नै रहने पौडेलको भनाइ छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?