मध्यपूर्वको तनावप्रति सरकार गम्भीर : नेपालीको सुरक्षामा कुनै कमी हुन नदिने प्रधानमन्त्रीको प्रतिबद्धता

लोकपथ
42
Shares

काठमाडौं । अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले मध्यपूर्व क्षेत्रमा बढ्दो तनावप्रति सरकार गम्भीर रहेको बताएकी छन् ।

देशवासीलाई सम्बोधन गर्दै उनले विशेषगरी इरान र त्यस वरपरको क्षेत्रमा गहिरिँदै गएको युद्धको संकटलाई सरकारले सूक्ष्म रूपमा नियालिरहेको स्पष्ट पारिन् ।

प्रधानमन्त्री कार्कीले उक्त क्षेत्रमा रहेका नेपाली नागरिकको सुरक्षा सरकारको उच्च प्राथमिकतामा रहेको उल्लेख गर्दै परराष्ट्र संयन्त्रमार्फत निरन्तर अनुगमन भइरहेको जानकारी दिइन् । उनले मध्यपूर्वमा रोजगारी तथा अन्य सिलसिलामा रहेका नेपाली दाजुभाइ, दिदीबहिनी र युवाहरूको अवस्थाप्रति सरकार गम्भीर र चिन्तित रहेको बताइन् ।

त्यस क्षेत्रमा रहेका सबै नेपाली नियोगहरूलाई सुरक्षा सहजीकरणमा सक्रिय बनाइएको र परराष्ट्र मन्त्रालयले सघन अनुगमन गरिरहेको पनि उनले जानकारी दिइन् ।

‘आज संसारको अर्को कुनामा मध्यपूर्वी क्षेत्रमा युद्धको संकट गहिरिएको छ । इरान र वरपरको तनावले हामीलाई चिन्तित बनाएको छ,’ उनले भनिन्, ‘विकसित घटनाक्रमलाई नेपाल सरकारले सूक्ष्म रूपमा नियालिरहेको छ । त्यहाँ रहनुभएका हाम्रा नेपाली दाजुभाइ, दिदीबहिनी र युवाहरूको सुरक्षा हाम्रो ठूलो चासोको विषय हो । हामी हरदम तपाईंहरूको साथमा छौँ । नेपाली जहाँ रहे पनि प्रत्येक नागरिकको व्यक्तिगत सुरक्षा र हितको रक्षामा यो सरकार पूर्ण रूपमा कटिबद्ध छ ।’

प्रधानमन्त्रीले विदेशमा रहेका नेपालीहरूलाई नआत्तिन, आधिकारिक सूचना मात्र अनुसरण गर्न तथा सम्बन्धित दूतावास र कूटनीतिक नियोगसँग नियमित सम्पर्कमा रहन आग्रहसमेत गरिन् । संकटको यस घडीमा सरकारले आफ्ना नागरिकको सुरक्षामा कुनै कसर बाँकी नराख्ने उनले आश्वासन दिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?