निधीको विकास एजेन्डा सार्वजनिक, के के छन् योजना ?

लोकपथ
35
Shares

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा धनुषा निर्वाचन क्षेत्र नम्बर–३ का उम्मेदवार विमलेन्द्र निधीले आफ्नो क्षेत्रको विकासका लागि स्वास्थ्य, कृषि र खेलकुदलाई मुख्य प्राथमिकतामा राखेर योजनाहरू सार्वजनिक गरेका छन् । 

चुनावी अभियानका क्रममा बोल्दै उनले जनकपुर उपमहानगरपालिका बाहेकका तीन वटा पालिकामा महिला तथा बालबालिकाका लागि विशेष स्वास्थ्य सेवा विस्तार गर्ने घोषणा गरे । उनका अनुसार ती पालिकामा तीन वटा प्रसूति अस्पताल र तीन वटा बाल अस्पताल निर्माण गरिनेछ ।

उनले जनकपुरमा सरकारी तथा निजी अस्पतालहरू पर्याप्त भए पनि दक्षिणतर्फका पालिकामा स्वास्थ्य सेवाको अभाव रहेको उल्लेख गर्दै त्यहाँ प्रत्यक्ष आवश्यकता अनुसार पूर्वाधार विकास गरिने बताए । साथै जनकपुरमै सुविधासम्पन्न जलन (बर्न)अस्पताल निर्माण गर्ने प्रतिबद्धता पनि व्यक्त गरे ।

कृषि क्षेत्रलाई प्राथमिकतामा राख्दै निधीले नेपालमै मल कारखाना स्थापना गर्ने योजना अघि सारे । मधेस प्रदेश कृषि प्रधान क्षेत्र भए पनि किसानले सधैँ मल अभाव झेल्नुपरेको उल्लेख गर्दै उनले मल कारखाना सञ्चालनमा आएपछि किसानले समयमै मल पाउने र स्थानीय युवाले रोजगारीसमेत प्राप्त गर्ने बताए ।

खेलकुद पूर्वाधार विकासतर्फ उनले जनकपुरमा ‘राम जानकी बहुउद्देश्यीय अन्तर्राष्ट्रिय रङ्गशाला’ निर्माण प्रक्रिया अघि बढेको जानकारी दिए । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले घोषणा गरेको १०० करोड रुपैयाँ अनुदान सोही रङ्गशालामा खर्च गर्ने गरी समन्वय भइरहेको उनले बताए । रङ्गशालाका लागि जग्गाको लालपुर्जा तयार भइसकेको र संघ, प्रदेश तथा स्थानीय तहबिच सहमति रहेको उनको भनाइ छ ।

निधीले खेलकुदलाई ‘स्पोर्ट्स इकोनोमी’ सँग जोड्दै रङ्गशाला निर्माणले युवाको शारीरिक तथा बौद्धिक विकाससँगै आर्थिक गतिविधि र व्यापार विस्तारमा समेत टेवा पुग्ने विश्वास व्यक्त गरे ।

त्यसैगरी, ऐतिहासिक धनुषाधामलाई अन्तर्राष्ट्रिय स्तरको धार्मिक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने योजना पनि उनले अघि सारे । जानकी मन्दिर र अयोध्या धाम जस्तै पूर्वाधार विस्तार गरी अन्तर्राष्ट्रिय लगानी भित्र्याउने लक्ष्य रहेको उनले बताए । यसबाट धार्मिक पर्यटन प्रवर्द्धनसँगै आर्थिक गतिविधि र रोजगारी वृद्धि हुने उनको दाबी छ ।

आफूले सार्वजनिक गरेका योजना कार्यान्वयनका लागि प्रतिबद्ध रहेको बताउँदै निधीले मतदाताहरूलाई समर्थन र मतदान गर्न अपिल गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?