‘एक्सन’मा प्रहरी : निर्वाचन लक्षित अफवाह फैलाउनेहरु धमाधम पक्राउ पर्दै

लोकपथ
14
Shares
Cyber Attack Crime

काठमाडौं । आसन्न निर्वाचनलाई लक्षित गरी सामाजिक सञ्जालमार्फत भ्रामक तथा उत्तेजक सामग्री प्रसारण गर्ने व्यक्तिमाथि प्रहरीले तीव्र निगरानी र कारबाही अघि बढाएको छ ।

नेपाल प्रहरीको साईबर ब्यूरोले सामाजिक सञ्जालमा निर्वाचन लक्षित अफवाह फैलाउनेहरुलाई धमाधम पक्राउ गर्न थालेको हो ।

पछिल्लो केही दिनयता चुनावविरोधी भ्रम फैलाउने, कृत्रिम (एआई) भिडियो बनाउने तथा हिंसात्मक आशयका सामग्री पोस्ट गर्नेहरूलाई तत्कालै ब्यूरोको टोलीले पक्राउ गरिरहेको छ ।

ब्यूरोले कांग्रेस सभापतिलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भोट मागेको भन्ने गलत आशयको भिडियो पोष्ट गरेको आरोपमा समेत एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा काठमाडौं महानगरपालिको जोरपाटी बस्ने ५० वर्षीय मधुु बोगटी रहेका छन् । उक्त सामग्री सार्वजनिक भएको करिब डेढ घण्टामै उनलाई पक्राउ गरिएको थियो । प्रारम्भिक बयानमा उनले अन्जानवश भिडियो पोस्ट भएको दाबी गरेका छन् ।

त्यसैगरी ‘पारस’ नामक टिकटक आइडीबाट कञ्चनपुर शुक्लाफाँटका प्रकाश भट्ट (हाल काठमाडौं बसोबास) ले चुनावप्रति वितृष्णा फैलाउने तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह ‘बालेन’सँग जोडिएको भ्रामक र हिंसात्मक आशयको भिडियो पोस्ट गरेको आरोपमा दुई घण्टाभित्र नियन्त्रणमा लिइएको थियो ।

यसैगरी चुनावविरोधी भ्रामक अभिव्यक्ति प्रशारण गरेको आरोपमा दुर्गा प्रसाईँलाई पनि केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को पहलमा दुई घण्टामै नियन्त्रणमा लिएर जिल्ला प्रहरी परिसरमा बुझाएको छ ।

निर्वाचनसम्बन्धी भ्रामक समाचार, पोस्ट वा कमेन्ट गर्ने व्यक्तिलाई बढीमा १२ देखि १५ घण्टाभित्र नियन्त्रणमा लिएर आवश्यक कानुनी कारबाही अघि बढाइएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?